काठमाडौँ, २५ भदौ । ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि संविधानसभामा जारी दफाबार छलफलमा भाग लिँदै सभासद्हरुले वार्ता र संवाद हुनु उचित भए पनि त्यसका नाममा संविधान बन्न नदिने खेल भएमा स्वीकार्य नहुनेमा धारणा राख्नु भयो ।
सभासद् रञ्जुकुमारी झाले जारी हुने क्रममा रहेको संविधानलाई रोक्नु भनेको जन्मिन लागेको बच्चालाई रोक्नुसरह हुने बताउँदै यस्तो स्थितिमा शीर्ष नेताका घर घरमा पुगेर विदेशी राजदूतले भेट गरेको सुन्दा दुःख लागेको बताउनुभयो । उहाँले भन्नुभयो – “संविधान भनेको बगिरहने नदीको पानीसरह हो, जमेको पोखरीको पानी होइन ।”
सभासद् जीवनबहादुर शाहीले तोकिएको समयमा संविधान जारी गर्न नसक्दा प्रमुख दलका शीर्ष नेताहरुको इज्जत र कद घट्दै गएको उल्लेख गर्नु भयो ।
सभासद् गुरुप्रसाद बुर्लाकोटीले सबैलाई सर्वमान्य संविधान निर्माण गर्नै नसकिने भएकाले संविधानसँग जोडेर अहिले मधेसमा भएको आन्दोलनलाई हिंसात्मक गतिविधिको सङ्ज्ञा दिनुभयो ।
बोकाले हात्तीलाई लतार्न सक्दैन भन्दै उहाँले मधेसमा ८७ प्रतिशत जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बेवास्ता गरेर संविधानसभाले संविधानको प्रक्रिया रोक्ने काम गरिनुहुँदैन भन्नुभयो ।
सभासद् दुलारी हरिजनले मधेसी र थारुलाई बुटले हानेर लोकतान्त्रिक संविधान बन्न सक्छ भनी प्रश्न गर्दै विगतमा भएको सहमतिलाई कार्यान्वयन गर्ने ढङ्गबाट संविधान जारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सभासद् यज्ञराज सुनुवारले संविधान जारी गर्न नदिने खेल सुरु भएकाले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धि हासिल गरी लोकतन्त्रलाई बलियो तुल्याउने काममा सबै अहिले एकीकृत हुन आवश्यक छ भन्नुभयो ।
सभासद्त्रय भरतकुमार शाह, रामबहादुर बोगटी र कमला घिमिरेले नेपाली जनताले शान्ति, स्थिरता र विकासका लागि सङ्घीय गणतन्त्र नेपालको नयाँ संविधान जारी गर्नुपर्ने आवश्यकता औँल्याउँदै खुट्टा कमाएर चलिरहेको संविधानको प्रक्रिया रोक्ने काम नगर्न शीर्ष नेताहरुलाई चेतावनी दिनुभयो ।
संविधानसभा सार्वभौम सम्पन्न र स्वतन्त्र निकाय भएकाले विगतमा कुनै दल विशेषसँग भएको सम्झौतालाई मान्नै पर्ने बाध्यता नरहेको बताउँदै उहाँहरुले राष्ट्रिय अस्मिता नबेचीकन सङ्घीयता लागू गर्न र संविधान लेख्न पाइन्न भन्ने सोचलाई परास्त तुल्याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
तराई मधेसमा प्रत्यक्ष निर्वाचनका लागि कायम भएको ११९ सिटमध्ये ११ सिटमा मात्र जित्ने मधेसवादी दलले ८७ प्रतिशत जनतामाथि राज गर्ने सोचका साथ आन्दोलन गरेकाले उनीहरुको मागको औचित्य नरहेको सभासद्हरुले धारणा राख्नुभयो ।
सभासद् सीता गिरी ओलीले संविधानसभा संविधान जारी गर्ने अन्तिम चरणमा रहेकाले यो वा त्यो बहानामा संविधान जारी गर्ने प्रक्रियामा खुट्टा नकमाउन आग्रह गर्नुभयो ।
सभासद् रामहरि खतिवडाले एउटा देशको सीता खाएर अर्काे देशको गीत गाउने प्रवृत्तिले संविधान लेखनमा योगदान दिन नसक्ने बताउँदै सामाजिक सद्भाव बिथोल्न खोज्नेसँग सबै सतर्क रहन आवश्यक छ भन्नुभयो ।
सभासद् लालबहादुर राउतले नेपाली जनताले हामीलाई संविधानसभाबाट संविधान बनाउने जिम्मेवारी दिएका हुन् भने अब पनि संविधान जारी हुन नदिन खोज्ने पक्षलाई परास्त गरेर अघि बढ्नुपर्छ भन्नुभयो ।
सभासद् अम्बरसिंह पुनले संविधान लेखनलाई द्रुत रुपमा अघि बढाउन तीन दलबीच भएको सम्झौताको भावनाअनुसार संविधान लेखनको प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो ।
सभासद् प्रकाश पौडेलले निर्णय गर्न नसक्नुभन्दा गरिएका निर्णय कार्यान्वयन गर्न सक्नु उचित भएकाले शीर्ष नेतालाई खुट्टा नकमाउन आग्रह गर्नुभयो ।
सभासद् कृष्णभक्त पोखरेलले संविधान बनाउँदा जनताका भावना मुखरित हुनेमध्येको उपयुक्त विधि संविधानसभा भएकाले हाल प्रस्तुत विधेयक र मुख्य दलका संशोधनले लोकतान्त्रिक र विश्वमा प्रचलित संविधानवादलाई आत्मसात् गरेकाले समर्थन गर्नुपर्ने बताउनुभयो । रासस













प्रतिक्रिया