देउखुरी, २५ भदौ । दाङको देउखुरीमा कारको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी जवानको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।
भालुवाङबाट लमही आउँदै गरेको बा १० च ५२३१ नम्वरको टाटा सुमोले ठक्कर दिँदा दाङ डुरुवा गाविस– ९ निवासी २७ वर्षीय जितबहादुर चौधरीको घटना स्थलमै मृत्यु भएको हो ।
ठक्करबाट राजपुर गाविस– ५ निवासी २८ वर्षीय अर्का प्रहरी जवान चन्द्र भण्डारी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
भण्डारीको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको छ ।
मध्यराति १२ बजे लमही नगरपालिका– १ नर्तीमा सुरक्षाका लागि राजमार्गमा खटिएका प्रहरीले मोटरसाइकलमा सवार ब्यक्तिहरूलाई सोधपुछ गर्ने क्रममा पूर्वबाट तीव्र गतीमा आएको कारले एक्कासि ठक्कर दिएर भागेको थियो ।
खोजतलासको क्रममा लमही नगरपालिका– १० देउपुरमा वेवारिसे अवस्थामा कार भेटिएको र चालक फरार रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख लक्षमणबहादुर शाहीले जानकारी दिनुभयो । सवारी धनी र चालकको पहिचान भैसकेको र उनीहरूको खोजी भइ रहेको छ ।












प्रतिक्रिया