२१ कार्तिक २०८३, शनिबार

राप्रपा नेपाललाई संविधान निर्माणमा फर्कन आग्रह, तीन ठूला दलको लिखित पत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । प्रमुख दलका शीर्ष नेताले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई संंविधान निर्माणको प्रक्रियामा फर्कन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री तथा कांग्रेसका सभापति सुशील कोइराला, एमालेका अध्यक्ष केपी ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा पत्र पठाई लोकतान्त्रिक विधि र प्रक्रियाप्रति पार्टीका अध्यक्ष कमल थापा र उहाँको पार्टीले देखाउँदै आएको प्रतिबद्धताको सराहना गर्दै नेताहरुले लामो समयदेखि नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान निर्माण होस् भनेर राखेको चाहनानुरुप संविधान निर्माणको प्रक्रिया निर्णायक चरणमा पुगेकाले त्यसमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

नेताहरुले संविधान निर्माणको निर्णायक घडीमा विगतदेखिको सहभागितालाई निरन्तरता दिनका लागि पार्टीले केही समय अगाडि लिएको निर्णयमा पुनःविचार हुने अपेक्षा व्यक्त गर्नुभएको छ ।

उहाँहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘संविधान निर्माणको यस ऐतिहासिक क्षणमा कुनै पनि राजनीतिक दल र सभासद्ले संविधान निर्माणको प्रक्रियाबाट आफूलाई अलग राख्नु हामी कसैको लागि पनि सुखद् हुन सक्दैन ।’

पत्रमा संविधानका विषयवस्तुमा दलबीच मतभेद रहन सक्ने उल्लेख गर्दै भनिएको छ, ‘तर राष्ट्रियतालाई मजबुत बनाउने, जनतालाई लोकतान्त्रिक अधिकारले सम्पन्न बनाउने तथा जनताको आर्थिक सामाजिक विकास गर्ने लक्ष्यमा हामी सबै एक ठाउँमा उभिन सक्छौंँ ।’

Rpp Nepal Lai 3 Dalo Letter