काठमाडौँ, २४ भदौ । कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले विश्वमा कहीँ पनि विवादमुक्त ढङ्गले संविधानसभाबाट संविधान जारी नभएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियनले जननायक विश्वेश्वरप्रसाद कोइरालाको १०१औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री आचार्यले दक्षिणी छिमेक भारतमा पनि १२ वर्षपछि संविधानका कतिपय प्रावधानलाई स्वीकार गरिएको स्मरण गराउनुभयो ।
“संविधान जारी गर्दा भारतमा मान्छेको कम क्षति भएन, त्यो बेलामा मान्छेका बीचमा विवाद चरम भयो, मुलुक टुक्रियो र एउटै ठाउँमा निर्वाचन भएको संविधानसभा विभाजित भएर दुईवटा भयो” – मन्त्री आचार्यले भन्नुभयो । संविधानसभाले संविधान बनाउने विषय कठिन भएको बताउँदै उहाँले तर त्यसमा केही चुनौती आयो भन्दैमा खुट्टा नकमाउने विश्वास दिलाउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री आचार्यले संविधान लेखनको अहिलेकै चरणमा सबैका विचारलाई समेट्न प्रयास गरिने विश्वास दिलाउँदै उहाँले त्यसो हुन नसके पनि पछि सम्बोधन गर्न सकिने गरी अत्यन्त उदारका साथ विधेयक व्यवस्थित गरेको जानकारी गराउनुभयो । “संविधान जनताको इच्छा र आवश्यकताअनुसार निरन्तर संशोधन हुनसक्छ” – उहाँले भन्नुभयो ।
मन्त्री आचार्यले शान्ति प्रक्रियाका हस्ताक्षर दल एमाओवादीलाई बाहिर राखेर कसरी संविधान जारी हुन्छ भन्ने राष्ट्रिय अन्तर्राष्ट्रिय सुझावलाई आत्मसात् गरेर एमाओवादीका साथ संविधान जारी गर्न लागेको अवस्थामा अझै पनि सर्वसम्मति भएन भन्न नमिल्ने बताउनुभयो ।












प्रतिक्रिया