२१ कार्तिक २०८३, शनिबार

अहिलेसम्म प्रजातान्त्रिक पद्धतिमा बसेर किन संविधानसभा छाड्नु भो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4 party meeting-NC,UML,UCPN(MAOIST) and RPP Nepal
काठमाडौं, २४ भदौ । प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र एकीकृत माओवादीले संविधानसभाको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई संविधानसभा नछाड्न आग्रह गरेका छन् ।

राप्रपा नेपालसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा तीन दलका शीर्ष नेताहरूले संविधानसभामा आउन आग्रह गरेका हुन् ।

राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार छलफल सकारात्मक भएपनि आफूहरूले आन्दोलनरत दलहरूका जायजमागलाई संशोधनका लागि आग्रह गरेको बताउनुभयो ।

‘राप्रपा नेपालले अघि सारेका मागलाई पूरा गर्न भनेका छौं’, उहाँले भन्नुभयो, ‘आन्दोलनरत मधेसी र थारुहरूको मागलाई पनि सम्बोधन आग्रह गरेका छौं ।’

यथाअवस्थामा संविधान जारी गरिए त्यसले मुलुकलाई दीर्घकालीन द्वन्द्वमा लैजानेभन्दै राप्रपा नेपालले मुलुकलाई जातीयता र धार्मिक युद्धमा जवरजस्ती धकेल्ने षड्यन्त्र भएको जनाएको थियो ।

‘८० प्रतिशतभन्दा बढी हिन्दुको बसोबास रहेको मुलुकका जनतालाई अपमान गरेर मुलुकलाई धर्मनिरपेक्षतामा जान थालेका छन्’, सहप्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘यसमागका विषयमा दलहरूले ध्यान दिए संविधानसभा बैठकमा फिर्ता हुने विषयमा सोँच्न सकिन्छ ।’

राप्रपा नेपालका माग सुनेपछि प्रधानमन्त्री सुशील कोइरालाका साथै एमालेका अध्यक्ष केपी ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सकारात्मक रुपमा लिएको जनाएका थिए ।

उनीहरूले आन्दोलनरत पक्षलाई पुनः दोस्रो पटक वार्तामा आउन आह्वान गरेको भन्दै वार्ता र सम्वादबाट सबैका असन्तुष्टि सम्बोधन गर्न सकिने जनाएका थिए ।

राप्रपा नेपालले पनि तराई र मधेसका मागका साथै आफूहरूको हिन्दुराष्ट्रको विषय ओझेलमा पर्ने देखेपछि बुधबारदेखि संविधानसभा बैठकबाट बाहिरिएको जनाएको थियो ।