काठमाडौँ, २४ भदौ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाबाट संविधान बनाउन सकिएमात्र जननायक बिपी कोइरालाप्रति सच्चा सम्मान हुने बताउनुभएको छ ।
कोइरालाको १०१औँ जन्मजयन्तीका सन्दर्भमा प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ विषयक कार्यक्रममा उपसभापति पौडेलले संविधानसभाबाट समयमानै लोकतान्त्रिक संविधान जारी गर्नसके आजीवन प्रजातन्त्रको लडाइँ लड्नुभएका बिपीको सपना पूरा हुने बताउनुभयो ।
उहाँले संविधान लेखनको कार्य अन्तिम चरणमा प्रवेश गरेको अवगत गराउँदै अब बन्ने नयाँ संविधानमा लोकतन्त्र, मौलिक अधिकार, समावेशीतासहितका प्रावधानले दक्षिण एसियाकै उत्कृष्ट हुने दाबी गर्नुभयो । उपसभापति पौडेलले संविधान निर्माण गर्नका लागि सबै एकजुट हुनुपर्ने भन्दै आन्दोलनरत दललाई वार्तामा आउन आग्रह गर्नुभयो ।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले लोकतन्त्रका संस्थापक बिपीको आदर्श र सिद्धान्तलाई पार्टीले कत्तिको लागू ग¥यो गरेन भनेर मूल्याङ्कन गर्नु आवश्यक रहेको बताउनुभयो ।
केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसका धेरैजसो सभासद् तराई क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले पार्टीको अस्तित्व जोगाउन भए पनि वार्ता र संवादबाट अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले संविधानसभाको प्रक्रिया स्थगित गरेर सेना फिर्ता बोलाएर वार्ताको माध्यमबाट निकास खोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो । रासस












प्रतिक्रिया