४ मंसिर २०८३, शुक्रबार

सन् २०३५ सम्ममा इस्लाम बन्नेछ विश्वको सबैभन्दा ठूलो धर्म, मुस्लिम जनसंख्या तीव्र गतिमा बढ्ने अनुमान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल विश्वको जनसंख्या ८ अर्बभन्दा बढी छ । यसमध्ये क्रिश्चियन धर्मावलम्बीहरूको संख्या सबैभन्दा बढी अर्थात् २ अर्बभन्दा माथि छ ।

त्यसैगरी, इस्लाम धर्म मान्नेहरूको संख्या पनि २ अर्ब पुगेको छ ।

यसैबीच, ‘प्यु रिसर्च सेन्टर’को एक प्रतिवेदनले सन् २०३५ सम्ममा इस्लाम धर्मले क्रिश्चियन धर्मलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो धर्म बन्नसक्ने देखाएको छ ।

प्रतिवेदन अनुसार इस्लाम र इसाई दुवै धर्म विस्तार भइरहेका छन् तर इस्लाम निकै तीव्र गतिमा फैलिरहेको छ । प्युका अनुसार यसको एउटा मुख्य कारण अन्य प्रमुख धार्मिक समूहको तुलनामा मुस्लिमहरूका सन्तान संख्या औसतमा बढी हुनु हो । प्युका वरिष्ठ विज्ञ कोनराड ह्याकेटले स्पष्ट पारे अनुसार यो विषय मुख्यतया सन्तानको संख्यासँग सम्बन्धित छ ।

सन् २०२० मा विश्वभर २ अर्ब २७ करोड क्रिश्चियन र २ अर्ब २ करोड मुस्लिम थिए । अनुमान अनुसार सन् २०३५ सम्ममा मुस्लिमहरूको संख्या २ अर्ब ५७ करोड पुग्नेछ, जबकि क्रिश्चियनहरूको संख्या २ अर्ब ५२ करोड पुग्नेछ । जनसंख्या वृद्धिको वर्तमान दर कायम रहे सन् २०७० सम्ममा विश्वभर मुस्लिमहरूको संख्या ३ अर्ब ६० करोडभन्दा बढी हुनेछ, जबकि क्रिश्चियनहरूको संख्या ३ अर्बभन्दा केही कम रहनेछ ।

प्युका अनुसार सन् २०२० देखि २०७० को बीचमा विश्वको जनसंख्या २९ प्रतिशतले वृद्धि हुने अनुमान छ । यस अवधिमा क्रिश्चियन धर्मावलम्बीहरूको संख्या ३० प्रतिशतले र मुस्लिम धर्मावलम्बीहरूको संख्या ८० प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ ।

प्युका अनुसार हिन्दु र यहुदीहरूको कुल संख्या बढिरहेको भए तापनि विश्व जनसंख्यामा उनीहरूको हिस्सा भने घट्ने अनुमान छ । साथै, बौद्ध धर्मावलम्बीहरूको संख्या र विश्व जनसंख्यामा उनीहरूको हिस्सा दुवै घट्ने अनुमान प्युले गरेको छ, जसको एउटा कारण चीन, दक्षिण कोरिया र जापानको कुल जनसंख्यामा आउने भनिएको गिरावट हो ।