२५ कार्तिक २०८३, बुधबार

ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा क्यूआरटी र मोबाइल टोली परिचालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि क्विक रेस्पोन्स टिम (क्यूआरटी), मोबाइल गाडी तथा सीसी क्यामेरामार्फत निगरानी भइरहेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले ट्राफिक व्यवस्थापनका लागि विभिन्न साधन तथा टोली परिचालन गरिएको बताए।

उनले भने, ‘हामीले ट्राफिक व्यवस्थापनका लागि ट्राफिकका साधनहरू परिचालन गरेका छौँ। हाम्रा क्यूआरटी र मोबाइल गाडीहरू परिचालनमा छन्। सीसी क्यामेराबाट पनि कन्ट्रोल रुममार्फत निगरानी गरिरहेका छौँ।’

मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई नियन्त्रण गर्न विभिन्न स्थानमा टोली खटाइएको उनले बताए। अहिले तीव्र गति, मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्न ट्राफिक प्रहरी केन्द्रित रहेको उनको भनाइ छ।

मापसे तथा लापसे गरेर सवारी चलाउने केही व्यक्ति भेटिएको उल्लेख गर्दै उनले दिउँसोको समयमा यस्तो गतिविधि बढ्न सक्ने बताए।

उनले भने, ‘संख्यात्मक हिसाबले धेरै त छैन, थोरै भेटिएका छन्। बिहानभन्दा दिउँसो बढ्न सक्छ, त्यसैले हामीले त्यसैमा केन्द्रित भएर काम गरिरहेका छौँ।’

तिहारमा टीका लगाउन जाने तथा फर्किने क्रममा तीव्र गतिमा सवारी नचलाउन र मादक तथा लागु पदार्थ सेवन गरेर सवारी नचलाउन पनि सुवेदीले आग्रह गरे।

‘रमाइलो गर्ने नाममा मादक पदार्थ सेवन गरेर वा छिटो पुग्छु भनेर तीव्र गतिमा सवारी चलाउँदा ठूलो जोखिम निम्तिन सक्छ। यसले पारिवारिक रूपमा पनि ठूलो पीडा दिन सक्छ। त्यसैले सबैलाई संयमित भएर सवारी चलाउन अनुरोध गर्दछु,’ उनले भने।