२० कार्तिक २०८३, शुक्रबार

२० औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ गर्दै गरिमा विकास बैंक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २० औं वार्षिकोत्सवको अवसरमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ गरिमा रोड रेसको तेस्रो संस्करण ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ ।

प्रतियोगिता आगामी मंसिर ५ गते शनिबार काठमाडौंमा सञ्चालन हुनेछ ।

स्वस्थ जीवनशैलीको प्रवद्र्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले विकास बैंकले वि.सं. २०८१ साल देखि यस प्रतियोगिताको सुरुवात गरेको हो ।

यस वर्षको प्रतियोगितामा खुला र कर्पोरेटतर्फ गरि करिब १,५०० धावकहरूको सहभागिता रहने अपेक्षा गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार प्रतियोगिता खुला तथा कर्पोरेट गरी दुई विधामा सञ्चालन हुनेछ ।

खुलातर्फ महिला तथा पुरुष दुवै समूहका लागि १० किलोमिटर र कर्पोरेटतर्फ महिला तथा पुरुष दुवै समूहका लागि ५ किलोमिटर दूरी निर्धारण गरिएको छ ।

कर्पोरेट विधातर्फ नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक, बीमा कम्पनी, पेमेन्ट सर्भिस प्रोभाईडर र पेमेन्ट सिस्टम अपरेटर्समा कार्यरत स्थायी कर्मचारीहरु मात्र सहभागीताका लागि योग्य हुनेछन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने धावकहरूलाई आकर्षक नगद पुरस्कारका साथै दौड पूरा गर्ने धावकहरुलाई सर्टिफिकेट र मेडलको व्यवस्था समेत गरिएको छ ।

खुलातर्फ महिला तथा पुरुष दुवै समूहका प्रथम हुने विजेतालाई जनही ५०,००० रुपैयाँ, द्वितीय हुनेलाई जनही ३५,००० रुपैयाँ, तृतीय हुनेलाई जनही २०,००० रुपैयाँ, चौथो हुनेलाई जनही १५,००० रुपैयाँ र पाँचौँ स्थान हासिल गर्नेलाई जनही १०,००० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

त्यसैगरी, कर्पोरेटतर्फ महिला तथा पुरुष दुवै समूहका प्रथम हुने विजेतालाई जनही ३०,००० रुपैयाँ, द्वितीय हुनेलाई जनही २०,००० रुपैयाँ, तृतीय हुनेलाई जनही १५,००० रुपैयाँ, चौथो हुनेलाई जनही १०,००० रुपैयाँ र पाँचौँ स्थान हासिल गर्नेले जनही ५,००० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

खुलातर्फको १० किलोमिटर दौड विकास बैंकको केन्द्रीय कार्यालय रहेको भवन बालुवाटारबाट सुरु भई बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय भवन परिसरसम्म पुगेर सोही मार्ग हुँदै पुनः बालुवाटारमा समापन हुनेछ ।

त्यस्तै, कर्पोरेटतर्फको ५ किलोमिटर दौड बालुवाटारबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पतालसम्म पुगेर सोही मार्ग हुँदै बालुवाटारमा समापन हुनेछ ।

प्रतियोगितालाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक तथा प्रभावकारी रूपमा सम्पन्न गर्न विकास बैंकले एनआरएस स्पोट्र्स फाउन्डेसनसँग सहकार्य गरेको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक धावकहरूले २०८३ कात्तिक २८ गतेदेखि २०८३ मंसिर २ गतेसम्म अनलाइन माध्यमबाट १०० रुपैयाँ दर्ता शुल्क भुक्तानी गरी आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

गरिमा विकास बैंकले खेलकुदमार्फत स्वस्थ, सक्रिय तथा अनुशासित समाज निर्माणमा योगदान पु‍र्‍याउने विश्वास व्यक्त गर्दै इच्छुक धावकहरूलाई प्रतियोगितामा उत्साहजनक सहभागिताका लागि आह्वान गरेको छ ।

प्रतियोगितासम्बन्धी थप जानकारीका लागि विकास बैंकको कल सेन्टर ०१–५९७०१७९ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।