काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति गगन थापालाई कसैले पनि उनलाई पक्राउ गर्न नसक्ने बताएका छन्।
शुक्रबार पार्टीको केन्द्रीय अनुगमन तथा मूल्यांकन विभागको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले थापालाई पक्राउ गर्न असम्भव रहेको बताएका हुन् ।
सरकारले थापालाई पक्राउ गर्ने तयारी गरिरहेको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा उनले भने, ‘जहाँसम्म गगनजीको कुरा गर्नुभयो, गगनजी पक्रन कसैले सक्दैन।’
दाहालले वर्तमान सरकार संविधान, लोकतन्त्र र गणतन्त्रका आधारभूत मान्यताबाट विचलित हुन खोजेको आरोपसमेत लगाए। उनले भने, ‘सरकार संविधान, लोकतन्त्र, गणतन्त्रका मूल्यमान्यता र मर्मभन्दा बाहिर जान खोजिराखेको छ। यो निकै चिन्ताको विषय छ, देशका लागि र जनताका लागि पनि।’
यसैबीच, प्रहरी महानिरीक्षक पदबाट दानबहादुर कार्कीलाई हटाइएको विषयमा सोधिएको प्रश्नमा भने दाहालले अदालतमा मुद्दा विचाराधीन रहेकाले अहिले टिप्पणी नगर्ने बताए।












प्रतिक्रिया