काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र सरकार र पार्टीबीचको असमझदारी बढ्दै गएको कुरा सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रको निम्ति शुभ संकेत नभएको बताएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै भट्टराईले यस्तो बताएका हुन् ।
‘नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टीबीचको असमझदारी बढ्दै गएको कुरा सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रको निम्ति शुभ संकेत होइन ।’ भट्टराईले लेखेका छन्, ‘स्मरण रहोस्, २००७ सालपछि कांग्रेसमा बिपी र मातृका समूह, पुनः कांग्रेसमा २०४७ पछि ७४ र ३६ (सांसद) समूह र २०५८ पछि गिरीजा र देउवा समूह, २०५२ पछि एमालेमा महाकाली सन्धी पक्षधर र विरोधी समूह, २०६४ पछि माओवादीमा संविधान बनाउने र जनविद्रोह गर्ने समूहबीचको अन्तर्संघर्ष र फुटले देश, लोकतन्त्र र जनतालाई कति नोक्सान भयो इतिहास साक्षी छ । भनाइ पनि छ– इतिहास दोहोरिन्छ किनकि मान्छेले आफ्ना गल्ती दोहोर्याउँछन् ।’
भट्टराईले जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोर्याओस् भनेका छन् ।
बरू इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गरोस् भन्ने उनको भनाइ छ ।

हिजो रास्वपा सभापति रवि लामिछानेले नै प्रहरी महानिरीक्षक हटाउने सरकारको निर्णयमाथि प्रश्न उठाउँदै त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै रहने सार्वजनिक अभिव्यक्ति दिएपछि गएराति प्रधानमन्त्री बालेन साहले देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने भन्दै फेसबुकमा लेखेका थिए ।

लामिछानेले पार्टीले सरकारलाई आईजीपी हटाउन नभनेको दाबी गर्दै आईजीपी हटाउनुको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै भएको भनेका थिए ।












प्रतिक्रिया