काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताएकी छिन् ।
बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै भण्डारीले एमालेले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही जानकारी प्रवाह गर्दै पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताएकी हुन् ।
एमाले मुलुकमा लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको प्रमुख राजनीतिक दल भएको उनले बताइन् ।
पूर्वराष्ट्रपति समेत रहेकी भण्डारीले मुलुकको बिकासमा प्रवासी नेपालीको पुँजी, ज्ञान, सीप र उद्यमशीलताको महत्त्वपूर्ण भूमिका रहने धारणा राखिन् । उनीहरूको लगानीलाई स्वदेशी निजी क्षेत्रसँग जोडेर उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा प्रोत्साहित गर्नुपर्ने भन्दै उहाले यसका लागि सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गरेकी छिन् ।
साथै उनले नेपाल र प्रवासी नेपालीहरू बसेका मुलुकहरूबीच आपसी समझदारी, मित्रता र सहकार्य अभिवृद्धि गर्न उनीहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएकी छिन् । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन तथा उनीहरूको उचित पारिश्रमिक, कानुनी अधिकार, स्वास्थ्य, दुर्घटना बीमा र सामाजिक सुरक्षाको प्रत्याभूति गर्न राज्यले विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।












प्रतिक्रिया