काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं. ३ बालुवाटारमा १२७ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
विसं २०६४ कात्तिक १८ गते विकास बैंकले पहिलोपटक कारोबार सञ्चालन गरेको १९ औं वर्षको विशेष अवसर पारेर बुधबारदेखि बालुवाटारस्थित आफ्नो केन्द्रीय कार्यालय रहेको भवनमा बालुवाटार शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
विकास बैंकको अध्यक्ष दिलिपप्रताप खाँणको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले बालुवाटार शाखाको उद्घाटन गरेका हुन् ।
सञ्चालनमा आएको बालुवाटार शाखामार्फत ग्राहकहरूले नियमित बैकिङ सेवाका अतिरिक्त एटिएम, लकर, विदेशी मुद्रा सटही लगायतका सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
आम नागरिकको बैंकिङ सेवामा पहुँच अभिवृद्धि गर्ने, वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउने तथा ग्राहकहरूलाई सहज र विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ विकास बैंकले आफ्नो शाखा सञ्जाल विस्तारलाई निरन्तरता दिँदै आएको छ ।
विकास बैंकले शाखा विस्तारलाई केवल भौगोलिक उपस्थितिको वृद्धिका रूपमा मात्र नभई स्थानीय आर्थिक गतिविधिको प्रवर्द्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिएको छ ।
बालुवाटार क्षेत्रमा नयाँ शाखा सञ्चालनमा आएसँगै व्यक्तिगत तथा संस्थागत ग्राहकहरूको आवश्यकता अनुरूपका वित्तीय सेवा उपलब्ध गराउन र स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास विकास बैंकले लिएको छ ।
गरिमा विकास बैंकले देशका सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत विभिन्न भौगोलिक क्षेत्रका करिब १० लाख ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।












प्रतिक्रिया