१४ कार्तिक २०८३, शनिबार

कहिले सुधार होला मौसम ?

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा भइरहेको वर्षा आज साँझदेखि क्रमिक रूपमा कम हुँदै जाने अनुमान गरिएको छ ।

नेपाल मौसम विभागका अनुसार बंगालको खाडीमा विकसित न्यून चक्रवातको अवशेष कमजोर हुँदै गएकाले मौसममा सुधार आउने देखिएको हो ।

मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो एक घण्टाको मौसमी अवस्थालाई हेर्दा देशका विभिन्न भूभागमा क्रमिक रूपमा सुधार भइरहेको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मौसम सुधार हुँदै गएको छ भने कोशी र मधेश प्रदेशका पूर्वी भू–भागमा पनि वर्षा कम हुँदै गएको छ ।

उनले भने, ‘पछिल्लो एक घण्टाको मौसम हेर्ने हो भने क्रमिक रूपमा सुधार आइरहेको अवस्था छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको भूभागमा मौसम सुधार हुँदै गइरहेको छ भने त्यससँगसँगै कोशी प्रदेश र मधेश प्रदेशको पनि पूर्वी भूभागमा मौसम सुधार हुँदै गएको छ ।’

उनका अनुसार बागमती, गण्डकी, कर्णाली र कोशी प्रदेशका पहाडी भू–भागमा भने अझै बादल लाग्ने र वर्षा हुने क्रम जारी छ । काठमाडौं र ललितपुर आसपासका क्षेत्रसहित दोलखा र संखुवासभाका केही स्थानमा मध्यम वर्षा भएको छ भने अन्य भू–भागमा हल्का वर्षा भइरहेको छ ।

लामिछानेले अपराह्नदेखि वर्षा क्रमिक रूपमा कम हुँदै जाने बताए । उनका अनुसार आज रातिदेखि मौसममा थप सुधार आउनेछ । भोलि र पर्सी आजको तुलनामा मौसम अझ राम्रो रहने देखिएको छ ।

उनले भने, ‘आजको तुलनामा विशेषगरी अब भोलि र पर्सी क्रमशः मौसममा सुधार आउने देखिन्छ । हिमाली तथा पहाडी भू–भागमा कतै–कतै छिटपुटदेखि हल्का वर्षा अथवा हिमपात भए पनि त्यस्तो धेरै प्रभाव पार्ने खालको मौसम प्रणाली रहेको छैन ।’

आगामी २४ घण्टाको मौसमबारे जानकारी दिँदै उनले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको बताए । सुदूरपश्चिम, मधेश र कोशी प्रदेशका केही स्थानमा मात्रै वर्षा हुने पूर्वानुमान छ ।

पछिल्लो २४ घण्टामा देशका धेरैजसो स्थानमा वर्षा भएको छ ।

मनाङको तालस्थित मौसम मापन केन्द्रमा १२४.२ मिलिमिटर वर्षा मापन भएको छ ।

गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भएको छ भने अन्य धेरैजसो भू–भागमा मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।

बंगालको खाडीमा बनेको न्यून चक्रवातको अवशेष न्यून चापीय प्रणालीका रूपमा भारत आसपास रहेकाले नेपालका विभिन्न भू–भागमा वर्षा भएको लामिछानेले बताए । उक्त प्रणालीको प्रभाव क्रमशः कमजोर हुँदै गएको र आज साँझसम्म यसको प्रभाव निकै कम हुने उनको भनाइ छ ।

वर्षाका कारण कृषि तथा पर्यटन क्षेत्रमा केही समय प्रभाव रहन सक्ने भएकाले मौसमसम्बन्धी सूचना तथा जानकारी नियमित रूपमा लिन उनले आग्रह गरेका छन् ।

पछिल्लो मौसमी जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा सामाजिक सञ्जाल हेर्न पनि उनले सुझाव दिएका छन् ।