जनकपुर । शुक्रबार (हिजो) काठमाडाैंस्थित विभिन्न मिडिया हाउसमा प्रवेश गरेर प्रहरीले सञ्चारकर्मीहरुलाई हिरासतमा लिएको विरोधमा पत्रकार महासंघ धनुषाले आज सरकारविरुद्ध मौन प्रदर्शन गरेको छ ।
जनकपुरधामस्थित पत्रकार महासंघको कार्यालय अगाडि प्लेकार्डसहित धनुषाका पत्रकारहरुले सरकारको धरपकडविरुद्ध मौन विरोध जनाएका छन् ।
उनीहरुले ‘प्रेस स्वतन्त्रता कुण्ठित गर्ने सरकारी रवैया बन्द गर’, ‘समाचार कक्षमा राज्य आतंक र पत्रकारहरुमाथिको धरपकड बन्द गर’, ‘मिडिया धरपकड बन्द गर’, ‘पत्रकारलाई थुनेर के पाउँछौं सरकार ? सत्यको आवाज झन हुन्छ हजार’, ‘राज्य आतंक मुर्दावाद’ लगायतका प्ले कार्ड बोकेर मौन विरोध जनाएका हुन् ।
पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण गुप्ताले हिजोको घटनाको घोर भत्र्सना गर्नुका साथै राज्यआतंकको संज्ञा दिएका छन् । सरकारको प्रस्तुती र सरकारको विज्ञप्ति फरकफरक आउनुले नियोजित षड्यन्त्रमार्फत बौद्धिक पेशाकर्मीमाथिको नियन्त्रण त होइन भनेर अध्यक्ष गुप्ताले प्रश्न गरेका छन् ।
उनले लोकतन्त्र संस्थागत गर्नका निम्ति पत्रकारमाथिको धडपकड बन्द हुनुपर्ने भन्दै सम्पूर्ण पेशाकर्मीहरुलाई एकजुट भई आवाज उठाउन आग्रह गरे ।
पत्रकार र पत्रकारजगतमाथि भइरहेको हस्तक्षेपविरुद्ध आवाज उठाउन अध्यक्ष गुप्ताले सबैलाई आग्रह गरेका छन् ।
गुप्ताले आज मौन विरोध जनाएतापनि भोलिदेखि केन्द्रीय निर्देशन अनुसार थप विरोध जनाउने जानकारी दिए ।












प्रतिक्रिया