१३ कार्तिक २०८३, शुक्रबार

क्रिकेट खेल्न मनपर्ने भएकाले दबाबभन्दा पनि खेलको मज्जा लिने गर्छु : सोमपाल कामी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत विराटनगर किङ्सलाई पराजित गर्दै कर्णाली याक्सले जित निकालेपछि कप्तान सोमपाल कामीले टोलीको प्रदर्शनप्रति खुसी व्यक्त गरेका छन् । उनले यो जित टोलीका लागि महत्वपूर्ण रहेको बताउँदै आगामी खेलमा पनि जितको लय कायम राख्ने विश्वास व्यक्त गरे ।

खेलपछि आयोजित पोस्टम्याच प्रेस मिटमा कप्तान सोमपालले आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा पनि टोलीले प्राप्त गरेको दुई अंक महत्वपूर्ण रहेको बताए।

‘कर्णाली याक्सले एकदमै राम्रो खेल्यो र एकदमै खुसी छौँ । मेरो इनिङभन्दा पनि यो दुई अंक हाम्रो लागि एकदमै महत्वपूर्ण थियो । आई होप, यो जितको लय हामीले निरन्तर कायम राख्नेछौँ,’ उनले भने ।

सोमपालले १८० रनको लक्ष्य पछ्याउन सकिने विश्वास आफूलाई सुरुदेखि नै रहेको बताए । खेलअघि पावरप्ले जित्ने योजना बनाएको भए पनि सुरुवातमा विकेट गुमाउन पुगेको उनले सुनाए ।

‘मलाई एकदमै विश्वास थियो, किनकि विकेट राम्रो खेलिरहेको थियो । मलाई लाग्छ १८० रन ठीक थियो । हामीले छ–सात रन मात्रै बढी खाएका थियौँ । यो चेज गर्न सकिने स्कोर हो भन्ने लागिरहेको थियो । पावरप्ले जित्नुपर्छ भन्ने हाम्रो योजना थियो । तर सुरुवातमै विकेट गुमाउन पुग्यौँ,’ उनले भने ।

पवनसँगको साझेदारीपछि गुलशन झासँग खेल्दा आफूलाई जितको विश्वास अझ बढेको सोमपालले बताए । विशेषगरी गुलशनको क्षमताबारे आफू जानकार रहेकाले अन्तिम चरणमा पनि खेल जित्न सकिनेमा विश्वस्त रहेको उनको भनाइ थियो ।

‘म मात्रै होइन, मेरो टिमका खेलाडी र स्टाफ सबैलाई यो खेल जित्छौँ भन्ने विश्वास थियो । गुलशनसँग म पाँच वर्षदेखि रुममेट छु । हामी एकअर्कालाई राम्रोसँग बुझ्छौँ । मलाई थाहा थियो गुलशन कस्तो खेलाडी हो । छ ओभरमा १७–१८ रन चाहिएको अवस्थामा पनि हामी जित्न सक्छौँ भन्ने विश्वास थियो,’ उनले भने ।

गुलशन झालाई नेपालको उत्कृष्ट टी–२० खेलाडीमध्ये एक भएको उल्लेख गर्दै सोमपालले उनलाई सबैले साथ र विश्वास दिनुपर्ने बताए ।

‘टी–२० मा हरेक दिन यस्तो इनिङ खेल्न सकिँदैन । तर उसले यस्तो इनिङ खेल्दा सबैले उसलाई बुस्ट गर्नुपर्छ । मलाई खुसी लाग्छ, मैले उसलाई हुर्किएको र राम्रो खेलाडी बनेको देखेको छु । भविष्यमा ऊ नेपाली क्रिकेटको ठूलो नाम बन्नेछ भन्ने आशा छ,’ उनले भने ।

उनले मैदानमा हरेक बल र हरेक क्षणको आनन्द लिने गरेको पनि सुनाए । आफूलाई क्रिकेट खेल्न मन पर्ने भएकाले दबाबभन्दा पनि खेलको मज्जा लिने गरेको उनको भनाइ थियो ।

‘म क्रिकेट खेल्न मन पराएर नै खेल्छु । क्रिकेट खेल्दा डराएर खेलेँ भने मज्जा आउँदैन । त्यसैले हरेक बल र हरेक क्षण इन्जोय गर्छु । हरेक बाउन्ड्री सेलिब्रेट गर्न चाहन्छु । म आफूलाई माया गर्छु,’ उनले भने ।

विराटनगर किङ्सविरुद्धको खेलमा दुवै टोलीले राम्रो क्रिकेट खेलेको उल्लेख गर्दै सोमपालले कर्णालीले निर्णायक दुई ओभरमा राम्रो प्रदर्शन गरेकाले जित सम्भव भएको बताए ।

‘हामीले गत वर्ष धेरै गल्ती गरेका थियौँ र हार्न पुगेका थियौँ । यो पटक राम्रो खेल्यौँ र जित्न सफल भयौँ । दुवै टिमले राम्रो क्रिकेट खेलेका हुन् । मलाई लाग्छ, हामीले दुई ओभर राम्रो खेल्यौँ । त्यही कारण खेल जित्न सफल भयौँ,’ उनले भने ।