१२ कार्तिक २०८३, बिहिबार

आईजीपी दानबहादुर कार्कीको राजीनामा चर्चाप्रति प्रहरी प्रधान कार्यालयको आपत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई राजीनामा दिन दबाब बढेको भन्ने चर्चाप्रति प्रहरी प्रधान कार्यालयले आपत्ति जनाएको छ।

प्रहरी प्रधान कार्यालयस्थित आईजीपीको सचिवालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रसारित अपुष्ट र तथ्यहीन समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो।

प्रहरीले पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रचार गर्दा नागरिकमा भ्रम सिर्जना हुनुका साथै प्रहरी संगठनको छवि र विश्वसनीयतामा असर पर्न सक्ने जनाएको छ।

विज्ञप्तिमा समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न आग्रह गर्दै भ्रामक प्रचार, अनावश्यक दबाब र गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्न प्रहरी प्रतिबद्ध रहेको उल्लेख छ।

प्रहरी संगठनलाई कमजोर बनाउने वा सुरक्षा निकायलाई विवादमा तान्ने उद्देश्यले भ्रामक सूचना फैलाइएको पाइए आवश्यक अनुसन्धान र कानुनी कारबाही अघि बढाइने चेतावनीसमेत दिइएको छ।

प्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता अवि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा तथ्यमा आधारित र विश्वसनीय समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सरोकारवालासँग आग्रह गरिएको छ।