काठमाडौं । पाँचौँ सिरिजङ्घा वडाध्यक्ष खुला नकआउट फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा टाडी स्पोर्टिङ क्लब मिक्लाजुङ विजयी भएको छ। टाडीले बेलबारीको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
मोरङको पथरीशनिश्चरे नगरपालिका–३ स्थित सिरिजङ्घा खेलमैदानमा भएको खेलमा टाडीको जितका नायक ओसन चाम्लिङ राई बने। उनले खेलका तीनै गोल गर्दै ह्याट्रिक पूरा गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा ओसनले उत्कृष्ट प्रदर्शन गरे। उनले दोस्रो हाफको दोस्रो, चौथो र १२औँ मिनेटमा लगातार तीन गोल गर्दै टाडीलाई शानदार जित दिलाए।
राष्ट्रिय तथा ए डिभिजन फुटबलमा अनुभव बटुलेका खेलाडीलाई मैदानमा उतारेको एलएक्स सिटीले भने टाडीका खेलाडीविरुद्ध अपेक्षाकृत प्रदर्शन गर्न सकेन। रोहन कार्की, मौसम लिम्बू, भुवन बस्नेत र प्रमिजय गच्छदारलगायतका खेलाडी मैदानमा उतारे पनि एलएक्स सिटीले गोल गर्न सकेन।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरेका टाडीका ओसन चाम्लिङ राई म्यान अफ द म्याच घोषित भए।
सिरिजङ्घा स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा आठवटा टोली सहभागी छन्। प्रतियोगिताअन्तर्गत शुक्रबार सुनौलो कल्याण एफसी पथरी र गोर्खा युनाइटेड एफसी उर्लाबारीबीच प्रतिस्पर्धा हुनेछ। कात्तिक १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ।














प्रतिक्रिया