काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भए पनि आयातको उच्च आकारका कारण व्यापार घाटा थप चुलिएको छ। साउनदेखि असोजसम्मको अवधिमा वस्तु आयात र निर्यात दुवै बढेका छन्।
भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालले ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.१८ प्रतिशत बढी हो। गत वर्ष पहिलो तीन महिनामा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँको वस्तु आयात भएको थियो।
निर्याततर्फ भने आयातको तुलनामा उच्च वृद्धि देखिएको छ। तीन महिनामा नेपालबाट १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरका वस्तु विदेश पठाइएको छ। गत वर्षको सोही अवधिमा ७२ अर्ब ७८ करोड रुपैयाँको निर्यात भएको थियो। यससँगै निर्यातमा ५७.०३ प्रतिशतको वृद्धि देखिएको छ।
आयात र निर्यात दुवैमा आएको वृद्धिसँगै नेपालको कुल वैदेशिक व्यापार ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो व्यापार ५ खर्ब ४० अर्ब ८७ करोड रुपैयाँ हाराहारीमा थियो। यस वर्ष कुल वैदेशिक व्यापार ४०।७१ प्रतिशतले विस्तार भएको हो।
निर्यात बढे पनि व्यापार घाटामा दबाब
निर्यात वृद्धिदर आयातको भन्दा उच्च रहे पनि कुल निर्यात रकम आयातको तुलनामा निकै कम रहेकाले व्यापार घाटा घट्न सकेको छैन। समीक्षा अवधिमा व्यापार घाटा ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। यो गत वर्षको सोही अवधिको ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँको तुलनामा ३४.७१ प्रतिशत बढी हो।
अर्थात् तीन महिनामा नेपालले विदेशबाट भित्र्याएको वस्तुको मूल्य र विदेश पठाएको वस्तुको मूल्यबीचको अन्तर एक वर्षमै १ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ।
यद्यपि, कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढेको छ। गत वर्ष पहिलो त्रैमासमा कुल व्यापारको १३.४६ प्रतिशत रहेको निर्यातको हिस्सा यस वर्ष १५.०२ प्रतिशत पुगेको छ। आयातको हिस्सा भने ८६.५४ प्रतिशतबाट घटेर ८४.९८ प्रतिशतमा सीमित भएको छ।
त्यसैगरी, गत वर्ष एक रुपैयाँ बराबरको निर्यात हुँदा ६ रुपैयाँ ४३ पैसाको आयात हुने गरेकोमा अहिले यो अनुपात घटेर ५ रुपैयाँ ६६ पैसामा आएको छ। यसले निर्यातमा सुधार देखाए पनि आयातमा निर्भरता अझै उच्च रहेको संकेत गर्छ।
पेट्रोलियम पदार्थ र कच्चा तेलको आयात ठूलो
वस्तुगत विवरणअनुसार पेट्रोलियम पदार्थ नेपालको प्रमुख आयातमध्ये पर्छ। पहिलो तीन महिनामा डिजेल आयातमा ४७ अर्ब ३१ करोड रुपैयाँ र पेट्रोलमा २४ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको छ। खाना पकाउने एलपी ग्यासको आयात २३ अर्ब १८ करोड रुपैयाँ बराबरको रहेको छ।
त्यस्तै, कच्चा भटमासको तेल आयातको मूल्य ५२ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। वनस्पति तेल उत्पादनसँग सम्बन्धित कच्चा पदार्थको ठूलो कारोबारले नेपालको आयात र निर्यात दुवैमा खाद्य तेलको प्रभाव देखाउँछ।
भारतसँग सबैभन्दा ठूलो व्यापार
नेपालको प्रमुख व्यापारिक साझेदार भारतसँगको कारोबार पहिलो त्रैमासमा पनि सबैभन्दा ठूलो देखिएको छ। समीक्षा अवधिमा भारतबाट ३ खर्ब ६६ अर्ब रुपैयाँभन्दा बढीका वस्तु आयात हुँदा नेपालबाट भारततर्फ ९५ अर्ब ५९ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्। यसले भारतसँगको व्यापार घाटा ठूलो रहेको देखाउँछ।
चीन नेपालको अर्को प्रमुख आयात स्रोतका रूपमा रहेको छ। चीनबाट १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरका वस्तु आयात हुँदा त्यहाँतर्फको निर्यात भने निकै न्यून रहेको छ।















प्रतिक्रिया