काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले हवाई सुरक्षासम्बन्धी सावधानीका उपाय अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
प्रतिकूल मौसमका कारण उडान तथा अवतरणमा समस्या आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक, वायुसेवा कम्पनी र सम्बन्धित निकायलाई सतर्क रहन आग्रह गरेको हो।
भारतको आन्ध्र प्रदेशस्थित तटीय क्षेत्रमा चक्रवात प्रवेश गरेसँगै यसको अवशेष प्रणालीले नेपालका विभिन्न क्षेत्रमा समेत मौसम प्रभावित पार्न सक्ने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमानसम्बन्धी विवरणअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा तथा चट्याङसहितको हुरीबतासको सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिमसमेत औँल्याइएको छ।
प्राधिकरणले जारी गरेको सुरक्षा परिपत्रअनुसार प्रतिकूल मौसममा उडान सञ्चालन गर्दा मौसमको अवस्था निरन्तर मूल्याङ्कन गर्नुपर्नेछ। उडान सुरक्षामा असर पर्ने अवस्था देखिएमा आवश्यकताअनुसार उडानको मार्ग परिवर्तन गर्ने, विमानलाई आकाशमै प्रतीक्षा गराउने वा वैकल्पिक विमानस्थलमा अवतरण गराउने व्यवस्था मिलाउनुपर्नेछ।
मौसमका कारण हावाको गति र दिशामा अचानक परिवर्तन हुने, वायुमण्डल अस्थिर हुने तथा चट्याङसहितको हुरीबतास चल्ने सम्भावनालाई ध्यानमा राख्दै यस्ता अवस्थासम्बन्धी सूचना विमान चालक तथा सम्बन्धित हवाई ट्राफिक नियन्त्रण एकाइलाई समयमै उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।
त्यस्तै, वर्षाका कारण धावनमार्गमा पानी जम्ने, सतह चिप्लिने र विमानको ब्रेकिङ क्षमतामा असर पर्ने जोखिम रहेकाले विमानस्थलको नियमित निरीक्षण गर्नुपर्नेछ। धावनमार्ग तथा विमानस्थल क्षेत्रमा पानीको निकास व्यवस्थित गर्ने, हावाले उडाएर ल्याएका वस्तु तथा फोहोर हटाउने र आवश्यक उपकरण तथा प्रणाली चुस्त अवस्थामा राख्नुपर्ने प्राधिकरणको निर्देशन छ।
विमानस्थल सञ्चालन, प्राविधिक तथा इन्जिनियरिङ विभागबीच समन्वय कायम राख्न र बत्ती, सञ्चार उपकरण तथा वैकल्पिक विद्युत् आपूर्तिको अवस्था जाँच गर्न पनि भनिएको छ। कुनै उपकरण वा प्रणालीमा समस्या देखिएमा त्यसबारे सम्बन्धित निकायलाई तत्काल जानकारी गराउनुपर्नेछ।
वायुसेवा कम्पनी र उडान चालक दललाई उडानअघि मौसमको विस्तृत जानकारी लिन, सम्भावित ढिलाइ तथा वैकल्पिक विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्थाका लागि तयारी अवस्थामा रहन र आवश्यक इन्धनको व्यवस्था सुनिश्चित गर्न प्राधिकरणले आग्रह गरेको छ।
यसैबीच, मौसम प्रतिकूल हुन सक्ने भन्दै सम्बन्धित निकायले हवाई यात्रु तथा उच्च पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आधिकारिक मौसम पूर्वानुमान र सुरक्षा सूचनाको नियमित जानकारी लिन आग्रह गरेका छन्। प्रतिकूल मौसमको अवस्था हेरी उडान तालिका परिवर्तन हुन सक्ने भएकाले यात्रुहरूलाई सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्कमा रहनसमेत सुझाव दिइएको छ।















प्रतिक्रिया