११ कार्तिक २०८३, बुधबार

रविको निवासमा रवि–बालेनबीच चार घण्टा गोप्य छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच बुधबार बूढानीलकण्ठस्थित लामिछाने निवासमा लामो छलफल भएको छ। प्रधानमन्त्री शाहले लामिछानेको निवासमा करिब चार घण्टा बिताएका छन्।

लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसहित निवास पुगेका थिए। स्रोतका अनुसार बिहान सवा १० बजे सुरु भएको भेटवार्ता दिउँसो सवा २ बजेसम्म चलेको थियो।

लामिछाने भारत भ्रमणबाट फर्किएपछि भएको यो भेटलाई समसामयिक राजनीतिक घटनाक्रम र सरकारका महत्त्वपूर्ण निर्णयसँग जोडेर हेरिएको छ। यद्यपि, दुवै नेताबीच के–के विषयमा छलफल भयो भन्नेबारे औपचारिक विवरण सार्वजनिक गरिएको छैन।

प्रधानमन्त्री र रास्वपा सभापतिबीचको भेट लम्बिएसँगै बुधबारका लागि तय गरिएको मन्त्रिपरिषद् बैठकसमेत बिहीबारका लागि सारिएको बताइएको छ। स्रोतहरूका अनुसार सरकारका केही संवेदनशील निर्णय, अध्यादेश र महत्त्वपूर्ण राजनीतिक नियुक्तिका विषयमा साझा धारणा बनाउनुपर्ने भएकाले दुई नेताबीच लामो छलफल भएको हुन सक्ने अनुमान गरिएको छ।

सरकारका महत्त्वपूर्ण नियुक्तिमा प्रधानमन्त्री र पार्टी सभापतिबीच सहमति जुटाउनुपर्ने विषय रहेको स्रोतको दाबी छ। तर कुन पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा निष्कर्ष निस्किएको वा बाँकी रहेकोबारे स्पष्ट जानकारी प्राप्त भएको छैन।

भेटमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग सम्बन्धित विषयले समेत प्रवेश पाएको हुन सक्ने स्रोतहरूले दावी गरेका छन् । कार्कीसँग सम्बन्धित प्रहरी पोसाकलगायत विषयमा संसदीय उपसमितिको बैठक बोलाइएको सन्दर्भमा प्रहरी संगठनको नेतृत्व र आगामी निर्णयबारे चासो बढेको छ।

प्रहरी महानिरीक्षक परिवर्तनको अवस्था आए सम्भावित नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच एकमत नरहेको स्रोतको दाबी छ। प्रधानमन्त्रीनिकट स्रोतले भने प्रहरी प्रमुखलाई दिइएको जिम्मेवारीअनुसार काम गर्नुपर्ने धारणा राखेको बताइएको छ।

लामिछानेको हालैको भारत भ्रमणबारे पनि प्रधानमन्त्रीसँग कुराकानी भएको बताइएको छ। व्यक्तिगत प्रयोजनका लागि गरिएको भ्रमणका क्रममा भएका गतिविधिबारे लामिछानेले प्रधानमन्त्रीलाई जानकारी गराएको स्रोतको भनाइ छ।

यसअघि लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणामा नयाँदिल्ली पुगेका थिए। भारत भ्रमणका क्रममा उनले भारतीय राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए। प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीसमेत चलिरहेको सन्दर्भमा दुई नेताबीचको भेटलाई नेपाल–भारत सम्बन्ध र आगामी कूटनीतिक संवादसँग जोडेर पनि हेरिएको छ। सरकार सञ्चालन, राजनीतिक नियुक्ति र सुरक्षा निकायको नेतृत्वजस्ता विषयमा निर्णय हुन बाँकी रहेको अवस्थामा भएको लामो भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।