काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक झिनो अंकले घटेको छ ।
दशैं बिदाअघि निरन्तर सात कारोबार दिन बढेको नेप्से दशैंपछि भने घटेको छ ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.३४ अंक घटेर २६२९.८२ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स २.१७ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक घटेको छ ।
१३ मध्ये आज चार उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक १.११ प्रतिशत बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
नेप्सेसँगै सोमबार कारोबार रकम पनि घटेको छ । गत असोज ३० गते चार अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।
आज चार अर्ब २४ लाख २१ हजार रुपैयाँ बराबरको एक करोड तीन लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज पनि घलेम्दी हाइड्रो कम्पनीको सबैभन्दा धेरै २३ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । शिवम् सिमेन्ट्सको साढे २० करोड र माउन्टेन इनर्जी नेपालको करिब १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
सोमबार बेनी हाइड्रोपावरको सेयरमूल्य ५२ रुपैयाँ ९० पैसा बढेर ४०५ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ । माथिल्लो मैलुङ खोला जलविद्युतको सेयरमूल्य करिब ६ प्रतिशत, सोनापुर मिनरल्स एण्ड आयलको सेयरमूल्य ५ प्रतिशत बढेको छ ।















प्रतिक्रिया