९ कार्तिक २०८३, सोमबार

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति राजेश हमाल– यस्तो चाप्लुसीले हाम्रो सार्वभौमसत्ताको गरिमालाई कमजोर बनाउँछ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा दिएको अभिव्यक्तिको चर्को आलोचना भइरहेका बेला नेपाली चलचित्रका महानायक राजेश हमालले पनि त्यसप्रति आपत्ति जनाएका छन् ।

हमालले नेपालको परराष्ट्र नीति, राष्ट्रिय सार्वभौमिकता र कूटनीतिक मर्यादामा सम्झौता गर्न नहुने बताएका हुन् ।

‘अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय अधिकारक्षेत्रको सीमा नाघेको देखिन्छ, उहाँले यस्तो टिप्पणी गर्नुभएको छ जसले नेपालको लामो समयदेखिको सैद्धान्तिक परराष्ट्र नीतिको आधारलाई नै विकृत पार्ने जोखिम निम्त्याउँछन् । यस्तो अति नै चाप्लुसीपूर्ण व्यवहारले हाम्रो सार्वभौमसत्ताको गरिमालाई कमजोर पार्नुका साथै नेपाल र भारतबीचको त्यो दीर्घकालीन सम्बन्धको समेत उपहास गर्छ, जसलाई दुवै मुलुकले उच्च सम्मानका साथ कायम राख्दै आएका छन् ।’ हमालले फेसबुकमा लामो टिप्पणी लेख्दै भनेका छन्, ‘नेपालको परराष्ट्र नीति सदैव राष्ट्रिय सार्वभौमिकता, गरिमा र अटल सिद्धान्तहरूसँग जोडिएको विषय रहँदै आएको छ, यो व्यक्तिगत तजबिज वा राजनीतिक सुविधाको विषय बन्नु हुँदैन । कुनै पनि ओहोदामा बसेको व्यक्तिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठामा आँच आउने किसिमका अभिव्यक्ति वा सर्तहरू राखेर यी आधारभूत मान्यताहरूसँग सम्झौता गर्नु हुँदैन ।’

उनले कसैले पनि व्यक्तिगत स्वार्थ वा राजनीतिक सुविधाका आधारमा नेपालको राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच पुग्ने अभिव्यक्ति दिन नहुनेमा पनि जोड दिए ।

भारतीय सञ्चारमाध्यम एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा भारतविरोधी भावनासँग जोडेर राष्ट्रवादलाई हेर्ने युग सकिएको बताएका थिए ।