बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६, उनासी पुलस्थित पूर्वपश्चिम राजमार्गमा दुई बसको बीचमा विद्युतीय सवारी (इभी) च्यापिँदा चालक घाइते भएका छन् ।
बुधबार बिहान करिब ३ बजे भएको दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ का ४१ वर्षीय इभी चालक ब्रह्मदेव मण्डल घाइते भएका हुन् । उनको ढाडमा चोट लागेको छ ।
निजगढस्थित सिटी अस्पतालमा उपचाररत मण्डलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काँकडभिट्टाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १३६५ नम्बरको बस उनासी पुलमा अगाडिबाट अर्को गाडी आएपछि सडकमा रोकिएको थियो । सोही दिशाबाट पछाडि आउँदै गरेको कोशी प्रदेश १–०१–००१ ख ४८६५ नम्बरको बसले रोकिराखेको मधेश प्रदेश ०४–००१ ज ०१६० नम्बरको इभीलाई पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्करपछि इभी अगाडि रोकिएको बसमा समेत ठोक्कन पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा इभीमा क्षति पुगेको छ भने अगाडिको बसमा सामान्य क्षति भएको छ ।











प्रतिक्रिया