२८ आश्विन २०८३, बुधबार

खगेन्द्र सुनारसँग जोडिएकी कांग्रेसी नेतृ को हुन् ? जसले सीतापाइलादेखि सौराहासम्म कुटाइ खाइन्

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग जोडिएको अडिओ विवादले नयाँ मोड लिएको छ। महिलालाई अश्लील गालीगलौज र धम्की दिएको भनिएको अडिओ सार्वजनिक भएपछि उनीसँग सम्बन्धित विगतका घटनाबारे पनि चर्चा सुरु भएको छ।

सुनारसँग निकट सम्बन्धमा रहेकी बागमती प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्रीमाथि काठमाडौंको सीतापाइला र चितवनको सौराहामा कुटपिट भएको आरोप छ। ती महिला नुवाकोटबाट नेपाली कांग्रेसको कोटामा बागमती प्रदेशसभा सदस्य बनेकी थिइन्।

राज्यमन्त्री बनेपछि विवाद

२०७८ पुस ९ गते तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेको मन्त्रिपरिषद् विस्तार हुँदा ती महिला स्वास्थ्य राज्यमन्त्री नियुक्त भएकी थिइन्। त्यसपछि उनी काठमाडौं फर्किएर सीतापाइला, शरणपुरस्थित आफ्नो निवासमा बस्दै आएकी थिइन्।

सोही निवासमा लेनदेनसम्बन्धी विवादका क्रममा सुनारले उनीमाथि कुटपिट गरेको आरोप छ। घटनापछि ती महिलाको सुरक्षामा खटिएकी महिला प्रहरी कर्मचारीले प्रहरी प्रधान कार्यालयमा जानकारी गराएकी थिइन्।

जानकारी प्राप्त भएपछि तत्कालीन जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले प्रहरी वृत्त स्वयम्भूलाई आरोपित व्यक्तिलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए। त्यसपछि तत्कालीन डीएसपी मिलन केसी घटनास्थलमै पुगेर सुनारलाई पक्राउ गरेका थिए।

प्रहरी हिरासतमा पुगे, भोलिपल्टै छुटे

पक्राउ परेपछि सुनारलाई प्रहरी वृत्त स्वयम्भूको हिरासतमा राखिएको थियो। घाइते अवस्थामा रहेकी ती महिला पनि प्रहरी कार्यालय पुगेकी थिइन् र सुनारलाई आफ्नो जिम्मामा छाडिदिन आग्रह गरेकी थिइन्।

तर प्रहरीले तत्काल रिहा गर्न नमानेपछि उनले सुनारका लागि न्यानो कपडाको व्यवस्था गरिदिएकी थिइन्। पक्राउ परेको भोलिपल्ट दुवै पक्षबीच मिलापत्रको कागज तयार भएपछि सुनारलाई छाडिएको थियो।

सीतापाइलापछि सौराहामा पनि कुटपिट

सीतापाइलाको घटनापछि केही समयमै चितवनको सौराहामा पनि सुनारले ती महिलामाथि कुटपिट गरेको आरोप छ। उक्त घटनापछि सुनार त्यहाँबाट भागेको र महिलाको अनुहार सुन्निएका कारण उनी एक सातासम्म मन्त्रालय नगएको बताइएको छ।

को हुन् ती महिला ?

यी घटनामा उल्लेख गरिएकी महिला नेपाली कांग्रेसबाट बागमती प्रदेशसभा सदस्य बनेकी तथा तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेको मन्त्रिपरिषद्मा स्वास्थ्य राज्यमन्त्री रहेकी व्यक्ति हुन्।

उनले आफ्नै भिनाजुसँग विवाह गरेका कारण गाउँमा बस्न असहज अवस्था बनेको थियो। नेपाली कांग्रेसका नेता प्रकाशशरण महतको सिफारिसमा उनले एउटा गैरसरकारी संस्थामा जागिर पाएकी थिइन्। उनकै जोडबलमा ती महिला समानुपातिक सांसद हुँदै राज्यमन्त्री बनेकी थिइन्।

खगेन्द्र सुनार र ती महिला दुवै नेपाली कांग्रेसको तरुण दलसँग आबद्ध रहेका बेला उनीहरूबीच सम्बन्ध जोडिएको थियो। त्यसपछि पैसासम्बन्धी विवाद तथा चरित्रमाथिको विषयलाई लिएर सुनारले ती महिलामाथि कुटपिट गर्दै आएको आरोप छ।

अडिओ प्रकरणपछि चर्चामा आएका सांसद सुनारले अडिओ आफ्नो नभएको र कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको हुन सक्ने दाबी गर्दै आएका छन्। रास्वपाले पनि घटनाबारे आन्तरिक छानबिन अघि बढाएको छ।