२८ आश्विन २०८३, बुधबार

रास्वपाद्वारा खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु गरेको छ ।

रास्वपाले केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिँदै छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन समेत निर्देशन दिएको हो ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा सुनारसँग सम्बन्धित सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उठाइएका प्रश्नप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

उनका अनुसार सुनारमाथि महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता आरोप सार्वजनिक भएको छ । पार्टीले यी विषयलाई गम्भीर र संवेदनशील भन्दै आरोपहरूको सत्यतथ्य पत्ता लगाउन आन्तरिक छानबिन अघि बढाएको जनाएको छ ।

रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन र फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको पनि स्पष्ट पारेको छ । छानबिन प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको रास्वपाले जनाएको छ ।

पार्टीले सार्वजनिक भएका विषयमा राज्यका सम्बन्धित निकायबाट अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै त्यस्तो अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

यो पनि

रास्वपा सांसद खगेन्द्र सुनारको आपत्तिजनक अडिओ बाहिरियो : पूर्वमन्त्री कांग्रेस नेतृलाई ज्यान मार्ने धम्की, अश्लील गालीगलौज