काठमाडौं । नेपाल टेलिकमले अनलाइन आवेदनमार्फत नयाँ प्रिपेड सिमकार्ड घरमै प्राप्त गर्न सकिने ‘हुलाक सिम’ सेवा सुरु गरेको छ। यो सेवाबाट ग्राहकले टेलिकमको काउन्टरमा नगई हुलाकमार्फत सिमकार्ड प्राप्त गर्न सक्नेछन्।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले एक कार्यक्रमबीच सेवाको शुभारम्भ गरेका हुन्। कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले पहिलो ग्राहकका रूपमा मन्त्री तिमिल्सिनालाई सिम हस्तान्तरण गरेका थिए।
मन्त्री तिमिल्सिनाले सेवालाई थप विस्तार गर्दै सरकारी सेवाहरू अनलाइनमार्फत सहज रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिए। मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलले पनि दुई संस्थाबीचको सहकार्यले सरकारी सेवा प्रवाहलाई सहज बनाउने विश्वास व्यक्त गरे।
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीका अनुसार यो सेवाले सहरी क्षेत्रका साथै सडक पहुँच कम भएका ग्रामीण क्षेत्रका ग्राहकलाई पनि सहज रूपमा सिम प्राप्त गर्न मद्दत गर्नेछ। हुलाक सेवा विभागकी महानिर्देशक पंगेनीले ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न हुलाकको भूमिका महत्त्वपूर्ण हुने बताइन्।
यसरी लिन सकिन्छ हुलाक सिम
हुलाक सिम लिन ग्राहकले नेपाल टेलिकमको वेबसाइट ntc.net.np मा गई ‘Postal SIM’ विकल्प छानेर अनलाइन आवेदन दिनुपर्नेछ। आवेदनमा पूरा नाम, जन्ममिति, ठेगाना र नजिकको चिनारी खुल्ने विवरण भर्नुका साथै प्रोफाइल फोटो तथा नागरिकता वा राहदानीको अगाडि र पछाडिको स्पष्ट तस्बिर अपलोड गर्नुपर्छ। त्यसपछि नजिकको नेपाल टेलिकम काउन्टर छनोट गरी आवेदन पेस गर्न सकिन्छ।
टेलिकमले कागजात जाँच गरेपछि एसएमएसमार्फत जानकारी दिनेछ। आवेदन स्वीकृत भएपछि सिम र डेलिभरी शुल्क अनलाइन भुक्तानी गर्न सकिनेछ। सिमको शुल्क ९० रुपैयाँ र हुलाक डेलिभरी शुल्क ७० रुपैयाँ गरी कुल १६० रुपैयाँ लाग्नेछ।
भुक्तानीपछि ग्राहकलाई मोबाइल नम्बर र सिम सक्रिय गर्ने कोड एसएमएस तथा इमेलमार्फत पठाइनेछ। त्यसपछि नजिकको हुलाक कार्यालयमार्फत सिम घरमै पुर्याइनेछ। सिम कहाँ पुगेको छ भन्ने विवरण ट्र्याक गर्न सकिने व्यवस्था पनि गरिएको टेलिकमले जनाएको छ।
सिम प्राप्त गरेपछि पोर्टलमा एक्टिभेसन कोड राखेर वा सिमबाट १४१४३ मा डायल गरेर सक्रिय गर्न सकिनेछ। सिम सक्रिय गर्न आवश्यक कोड सुरक्षित राख्नुपर्नेछ।
सेवा दर्तादेखि सिम प्राप्तिसम्मको विस्तृत प्रक्रिया नेपाल टेलिकमको वेबसाइटमा उपलब्ध निर्देशिकाबाट हेर्न सकिनेछ।













प्रतिक्रिया