२८ आश्विन २०८३, बुधबार

नक्कली आधार कार्ड बनाउने आरोपमा दुई नेपालीसहित तीन जना पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । रौतहटसँग जोडिएको सीमावर्ती भारतीय राज्य बिहारको पूर्वी चम्पारण जिल्लाको कुण्डवा चैनपुर बजारमा नेपाली नागरिकको नक्कली आधार कार्ड बनाउने तथा सोही आधार कार्ड प्रयोग गरी ऋण निकाल्ने गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

कुण्डवा चैनपुर थाना क्षेत्रअन्तर्गत कुण्डवा चैनपुर गाउँमा रहेको सेन्ट्रल बैंकको सीएसपी (कस्टमर सर्भिस प्वाइन्ट)बाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नेपाली नागरिकका नक्कली आधार कार्ड बनाउने र ती आधार कार्ड प्रयोग गरी बैंकबाट ऋण निकाल्ने गरिएको गोप्य सूचना प्राप्त भएपछि सीएसपीमा छापा मारिएको थियो ।

छापाका क्रममा प्रहरीले नक्कली आधार कार्डसहित एक थान ल्यापटप, फिंगर स्क्यानर, आइरिस (आँखा) स्क्यानर, थप दुई थान फिंगर स्क्यानर र एउटा क्यामेरा बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा कुण्डवा चैनपुर गाउँका करिब ३२ वर्षीय मनीष कुमार छन् ।

त्यस्तै, रौतहटको ईशनाथ नगरपालिका–मठिया गाउँका नेपाली नागरिक रामचन्द्र रामकी पत्नी शिवझाडी देवी र हुलास रामकी पत्नी फुला देवी समेत पक्राउ परेका छन् ।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक सत्यापन तथा घटनाबारे थप अनुसन्धान भइरहेको कुण्डवा चैनपुर प्रहरीले जनाएको छ ।

प्रहरीले नक्कली आधार कार्ड निर्माण तथा त्यसको प्रयोग गरी ऋण निकाल्ने कार्यमा अन्य व्यक्तिको समेत संलग्नता भए/नभएको विषयमा अनुसन्धान अघि बढाएको छ ।