दुबई । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाइदुबईको यात्रुवाहक विमानले उडानका क्रममा आपत्कालीन संकेत पठाएपछि उत्पन्न सुरक्षा त्रासदी अन्ततः विमान साउदी अरबमा सुरक्षित अवतरण गरेसँगै साम्य भएको छ।
विमानले सम्भावित ‘अनलफुल इन्टरफेरेन्स’ अर्थात् गैरकानुनी हस्तक्षेपसँग सम्बन्धित संकेत पठाएपछि इजरायली सुरक्षा निकायमा हलचल मच्चिएको थियो। विमानलाई साउदी अरबको तबूक विमानस्थलतर्फ मोडिएको थियो। विमानमा करिब १८० यात्रु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
प्रारम्भिक विवरण सार्वजनिक भएपछि भने विमान हाइज्याक भएको आशंका कमजोर बनेको छ। इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विमानभित्रका दुई पाइलटबीच भएको शारीरिक झगडाका कारण आपत्कालीन संकेत सक्रिय भएको हुनसक्ने बताएका छन्। यद्यपि घटनाको वास्तविक कारणबारे औपचारिक अनुसन्धानपछि मात्रै अन्तिम निष्कर्ष आउनेछ।
घटनाका क्रममा विमानसँग सम्पर्क तथा सुरक्षा अवस्थाबारे अन्योल देखिएपछि इजरायलले पनि सुरक्षा सतर्कता बढाएको थियो। इजरायली वायुसेनाका लडाकु विमानहरूलाई तयारी अवस्थामा राखिएको र प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा रक्षामन्त्री इजरायल काट्जले सुरक्षा अधिकारीहरूसँग आकस्मिक छलफल गरेको विवरण सार्वजनिक भएको छ।
विमान साउदीमा अवतरण गरेपछि त्यसको सुरक्षा जाँच तथा चालक दलसँग सोधपुछ गरी घटनाको कारण पत्ता लगाउने प्रक्रिया अघि बढाइएको छ। पछिल्लो विवरणअनुसार अहिले मुख्य अनुसन्धान विमानभित्र वास्तवमा के भएको थियो भन्ने विषयमा केन्द्रित छ।
यस घटनाले केही समयका लागि दुबई–तेल अभिभ हवाई मार्गमा सुरक्षा चिन्ता बढाए पनि विमान सुरक्षित रूपमा अवतरण गरिसकेपछि यात्रुहरूको अवस्था सामान्य रहेको बताइएको छ।













प्रतिक्रिया