काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भएका रेशमलाल चौधरीलाई राष्ट्रपतिबाट दिइएको आममाफीविरुद्ध दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गर्ने फैसला गरेको हो ।
चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध टीकापुर घटनामा ज्यान गुमाएका प्रहरीकी पत्नी शारदा कडायतले २०८० जेठमा सर्वोच्चमा रिट दायर गरेकी थिइन् । उनले जन्मकैदको सजाय पाएका चौधरीलाई आममाफी दिई रिहा गर्ने निर्णय कानुनसम्मत नभएको दाबी गरेकी थिइन् ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा आठ प्रहरी र एक बालकको मृत्यु भएको थियो । उक्त घटनामा चौधरीसहितलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको थियो, जसलाई उच्च अदालत हुँदै सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि चौधरी २०८० जेठ १५ गते कारागारबाट रिहा भएका थिए । त्यसको भोलिपल्ट कडायतले आममाफीविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।











प्रतिक्रिया