काठमाडौं । नेकपा (एमाले)का नेता विष्णु रिजालले २०८२ साल भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूलाई ‘राष्ट्रका दुश्मन’को संज्ञा दिएका छन् ।
भदौ २४ लाई ‘देश जलाइएको दिन’को संज्ञा दिँदै रिजालले उक्त दिनका हिंसात्मक गतिविधिमा संलग्नहरू जेनजी, भ्रष्टाचारविरोधी, सुशासन पक्षधर वा ‘नेपोबेबी’ विरोधी नभएको दाबी गरेका हुन् ।
‘ती कुनै जेनजी थिएनन् । ती कुनै भ्रष्टाचारविरोधी थिएनन् । ती कुनै सुशासन पक्षधर थिएनन् । ती कुनै नेपोबेबी विरोधी थिएनन् । ती थिए– नेपाल राष्ट्रका दुश्मनहरू । जसले भदौ २४ मा हाम्रो धरोहर सिंहदरबार जलाए । संसद् भवन जलाए । सर्वोच्च अदालत जलाए । शीतल निवास जलाए । देशैभरि हजारौँ व्यक्तिका घर जलाए । सार्वजनिक संस्थान जलाए । सरकारी कार्यालय जलाए । व्यवसाय जलाए । लुटे ।’ उनले लेखेका छन् ।
उनका अनुसार भदौ २४ गते सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र शीतल निवासलगायतका राष्ट्रिय धरोहर तथा सरकारी संरचनामा आगजनी भएको थियो । देशभर हजारौँ व्यक्तिका घर, सार्वजनिक संस्थान, सरकारी कार्यालय तथा व्यवसायमा समेत आगजनी र लुटपाट भएको उनले बताए ।
भदौ २३ गतेको घटनालाई ‘अकल्पनीय’ भन्दै रिजालले त्यसलाई राज्यको लापरबाही र लाचारीको पराकाष्ठा भएको टिप्पणी गरे । उनका अनुसार तत्कालीन गृहमन्त्रीले अघिल्लो साँझ नै राजीनामा दिइसकेका थिए भने प्रधानमन्त्रीले भदौ २३ गते दिउँसो २ बजे राजीनामा दिएर हेलिकोप्टरमार्फत बालुवाटार छाडेका थिए । तर, प्रधानमन्त्रीको राजीनामापछि पनि राष्ट्रमा आगजनी नरोकिएको रिजालले भने ।
‘भदौ २३ को घटना अकल्पनीय थियो । राज्यको लापरबाही र लाचारीको पराकाष्टा थियो । गृहमन्त्रीले अघिल्लै साँझ राजीनामा दिइसकेका थिए । प्रधानमन्त्रीले दिउँसो २ बजे राजीनामा दिएर हेलिकोप्टर चढेर बालुवाटारबाट अज्ञातस्थलतिर लागेका थिए । तर पनि, राष्ट्र जलाउन रोकिएन । अधिकांश आगजनी प्रधानमन्त्रीको राजीनामापछि गरिएको छ,’ उनले भने ।
रिजालले आन्दोलनका क्रममा सर्वसाधारणका छोराछोरीले ज्यान गुमाएको उल्लेख गर्दै अहिले सत्तामा रहेका व्यक्तिहरू त्यस घटनाका ‘लाभग्राही’ भएको आरोप समेत लगाएका छन् । उनीहरूको आन्दोलनमा कुनै क्षति नभएको र योगदान पनि नरहेको उनको दाबी छ ।
उनले भने, ‘जनताका छोराछोरी मरे/मारिए। अहिले जो सत्तामा छन्, यी लाभग्राही हुन् । तिनको त्यस आन्दोलनमा केही क्षति भएको छैन, केही योगदान पनि छैन ।’
समय सधैँ एकनाश नरहने भन्दै रिजालले राष्ट्रमाथि ज्यादती गर्नेहरूको अभिलेख कतै न कतै रहने बताए ।
‘समय सधैँ एकनाश रहँदैन । राष्ट्रमाथि ज्यादती गर्नेहरूको अभिलेख पक्कै कहीँ न कहीँ होला । आशा गरौँ– फेरि यस्तो कहिल्यै हुने छैन,’ रिजालले भनेका छन् ।













प्रतिक्रिया