काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नेपाली सेनाको आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ ।
गृह मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री बोकेका सेनाका आठ वटा सवारीसाधन गएराति प्रभावित क्षेत्रतर्फ पठाइएको हो ।
प्रभावित नागरिकका लागि पठाइएका राहत सामग्रीमा ५०० थान मच्छरदानी, १ हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट तथा ३० केभीए क्षमताको एक थान जेनेरेटर रहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक सामग्री पुर्याउन तथा पीडित नागरिकलाई राहत उपलब्ध गराउन ती सामग्री पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेकाले आवश्यकताअनुसार थप राहत सामग्री पठाउने तयारी समेत भइरहेको छ ।











प्रतिक्रिया