समाचार टिप्पणी
काठमाडौं । डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियानलाई एक समय नागरिक आन्दोलनको शक्तिशाली उदाहरण मानिन्थ्यो । उनका अनशनलाई समर्थन गर्न चिकित्सक, विद्यार्थी, नागरिक अगुवा र विभिन्न क्षेत्रका अभियन्ताहरू सडकमा उत्रिन्थे । तीमध्ये सस्मित पोखरेल, पुकार बम र रन्जु दर्शनाजस्ता अनुहार निकै सक्रिय मानिन्थे ।
तर समय फेरिएको छ । आज तीमध्ये धेरैजसो डा. केसीको आन्दोलनमा देखिँदैनन् । अझ रोचक कुरा, त्यतिबेला सरकारविरुद्ध चर्का नारा लगाउने सस्मित पोखरेल अहिले स्वयं सरकारको नेतृत्व तहमा मन्त्री तथा सरकारका प्रवक्ताको जिम्मेवारीमा छन् । यही तथ्यले अहिले नयाँ बहस जन्माएको छ ।
प्रश्न उठेको छ– सरकारमा पुगेपछि आन्दोलनका मुद्दाहरू अप्रासंगिक भए, कि सत्ताको जिम्मेवारीले आवाजको स्वर बदलिदियो ?
यता, २४ औं सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्य अवस्था भने दिनप्रतिदिन जटिल बन्दै गएको छ । चिकित्सकहरूका अनुसार उनको रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० मा झरेको छ । मांसपेशी बाउडिने, बोल्न कठिन हुने र हिँडडुल गर्न समेत समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।
तर यसपटकको आन्दोलनमा अर्को फरक दृश्य पनि देखिएको छ । एक समय डा. केसीको अनशनस्थल समर्थनको केन्द्र बन्ने गर्थ्यो । अहिले भने उनी अनशनरत रहेको धनगढीस्थित कृष्ण मन्दिर धर्मशालाबाहिर ‘गोविन्द केसी गो ब्याक’ को नारा लागेको छ । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले उनको सत्याग्रह फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको छ । यसले विगतका आन्दोलनभन्दा फरक सामाजिक र राजनीतिक परिस्थिति संकेत गरेको देखिन्छ ।
डा. केसीले अहिले पनि विगतजस्तै चिकित्सा शिक्षा सुधार, सुशासन, राजनीतिक हस्तक्षेपको अन्त्य र स्वास्थ्य क्षेत्र सुधारका माग दोहोर्याइरहेका छन् । तर पहिले ती मागलाई समर्थन गर्दै सडकमा उत्रिने धेरै अनुहार अहिले मौन छन् ।
विपक्षमा हुँदा आन्दोलनको भाषा र सरकारमा हुँदा जिम्मेवारीको भाषा फरक हुन सक्छ । तर, यदि कुनै आन्दोलन सिद्धान्त र सार्वजनिक हितका लागि थियो भने सत्ता परिवर्तनसँगै त्यसप्रतिको प्रतिबद्धता हराउनु हुँदैन ।
यसले अर्को प्रश्न पनि उठाउँछ– डा. केसी बदलिएका हुन्, कि उनलाई साथ दिने पात्रहरू बदलिएको हो ?
उत्तर सरल छैन । सम्भवतः आन्दोलनभित्र रणनीतिक मतभेद भएका होलान्, प्राथमिकता फेरिएका होलान् वा राजनीतिक यात्रा फरक दिशामा मोडिएको होला । तर एउटा तथ्य भने स्पष्ट छ– एक समय एउटै नारामा उभिएका पात्रहरू आज फरक–फरक स्थानमा छन् ।
यसैकारण अहिलेको बहस केवल डा. केसीको आन्दोलनको प्रभावकारिताबारे मात्र होइन । यो नागरिक आन्दोलन र सत्ता राजनीतिबीचको सम्बन्ध, सिद्धान्त र अवसरबीचको दूरी तथा आन्दोलनबाट सत्तासम्मको यात्रामा मूल्य–मान्यताले कति निरन्तरता पाउँछ भन्ने प्रश्नसँग पनि जोडिएको छ ।
त्यसैले अहिलेको मूल प्रश्न “डा. केसी सही कि गलत ?” भन्दा पनि “एक समय आन्दोलनको अग्रपङ्क्तिमा रहेका पात्रहरू सत्तामा पुगेपछि किन मौन देखिन्छन् ?” र अहिले डा. केसी स्वास्थ्यसँग संघर्ष गरिरहँदा उनीसँग उभिनेहरू चुप रहँदा उनीहरूको नियत र निष्ठामाथि प्रश्न उठेको छ ।







प्रतिक्रिया