१२ श्रावण २०८३, मंगलबार

मुकुल ढकालको दाबी– अबको राजनीतिमा वाम एकता रोक्ने प्रयास हुनेछ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले वर्तमान सरकारले प्रत्यक्ष निर्वाचित राष्ट्रपति व्यवस्थाका लागि जनमतसंग्रह गराउने उद्देश्यसहित राजनीतिक रणनीति अघि बढाइरहेको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ढकालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति व्यवस्थाका लागि आगामी प्रदेश निर्वाचनसँगै जनमतसंग्रह गराउने सरकारको योजना रहेको दाबी गरेका हुन् ।

‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति व्यवस्थाका लागि, आगामी प्रदेश निर्वाचनसँगै योजना गरिएको जनमतसंग्रह गराउनका लागि संघीय संसदको २२५ (प्रमुख सहित) पुर्‍याउनका लागि प्रचण्डको पार्टीलाई साथमा लिनपर्ने हुन्छ ।’ ढकालले लेखेका छन्, ‘वाम एकता भएमा यो योजना विफल हुनसक्नेछ । स्मरण रहोस्, कांग्रेस–एमालेका नेतामाथि भट्टाभट अनुसन्धान अघि बढाइँदा पनि प्रचण्डको पार्टीको कोही पनि नेतालाई अहिलेको सरकारले छोएको छैन ।’

उनले कांग्रेस र एमालेका नेतामाथि अनुसन्धान अघि बढाइएको भए पनि नेकपाका कुनै पनि नेतालाई सरकारले नछोएको भन्दै त्यसलाई पनि राजनीतिक रणनीतिसँग जोडेर टिप्पणी गरे ।

उनले अबको राजनीतिमा वाम एकता रोक्ने प्रयास हुने र यदि वाम एकता भए वर्तमान सरकारसँग २०८६ सालसम्म पर्खिने क्षमता नरहेकाले ‘प्लान बी’ लागू हुनसक्ने पनि दाबी गरे ।

‘अबको राजनीतिमा वाम एकता रोक्ने प्रयास हुनेछ । वाम एकता भइहाले, २०८६ सालसम्म कुर्ने ल्याकत अहिलेको सत्तासँग छैन र प्लान बी सुरू हुनेछ । त्यो प्लान बी के हो, कसो हो, खुल्न बाँकी छ ।’ उनले लेखेका छन् ।