९ कार्तिक २०८३, सोमबार

संस्कार र शैली बदल्न नसके राजनीति सुध्रिँदैन : विश्वप्रकाश शर्मा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली राजनीतिको सबैभन्दा ठूलो चुनौती संस्कार र शैलीको रुपान्तरण रहेको बताएका छन् ।

सुनसरीको झुम्कामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनावी प्रतिस्पर्धालाई गालीगलौज र वैमनस्यतामा सीमित नगरी विचार, नीति र कार्यक्रमको आधारमा अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले आफूले विभिन्न सभामा सम्बोधन गर्दा कसैप्रति व्यक्तिगत आक्षेप नलगाएको उल्लेख गर्दै राजनीतिक मञ्चलाई आरोप–प्रत्यारोपको अखडा बनाउनु गलत संस्कार भएको बताए । ‘निर्वाचन दुस्मनी मोल्ने मैदान होइन, विचार र प्रतिस्पर्धाको अभ्यास हो,’ उनले भने, ‘कांग्रेस प्रेम, सहिष्णुता र सामाजिक सद्भावको राजनीतिमा विश्वास गर्छ ।’

उपसभापति शर्माले जनतालाई ‘गर्छु’ भन्ने भाषणभन्दा ‘गरेको काम’ हेरेर मूल्यांकन गर्न आग्रह गरे । इतिहासमा मुलुक संकटमा पर्दा कांग्रेसले जिम्मेवारी बहन गर्दै निकास दिएको स्मरण गराउँदै उनले आगामी निर्वाचनमा विवेकपूर्ण निर्णय गर्न मतदातालाई अपिल गरे ।

उनले आफ्नो धारणा स्पष्ट पार्दै फेवा तालमा डुंगा सयरको प्रसंग सुनाए । रहरले डुंगा चलाउन खोज्दा बीचमा हावाहुरी आएपछि अनुभवी चालकलाई नै जिम्मा दिनुपरेको उदाहरण प्रस्तुत गर्दै उनले देश सञ्चालन जस्तो गम्भीर जिम्मेवारी अनुभव र क्षमतासँग जोडिएको विषय भएको बताए ।

शर्माले ‘जेनजी आन्दोलन’पछि कांग्रेसभित्र नीति र विधानमै सुधार गरिएको दाबी गरे । राष्ट्रपति एक कार्यकाल र प्रधानमन्त्री दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्था विधानमा समावेश गरिएको उल्लेख गर्दै उनले यसलाई संस्थागत रुपान्तरणको संकेतका रूपमा व्याख्या गरे । साथै, निर्वाचनपछि पनि दलहरूबीच राष्ट्रिय मुद्दामा सामूहिक छलफल र सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए ।