बिर्तामोड । नेकपा एमाले (झापा)का अध्यक्ष प्रेम गिरीले झापा–५ बाट केपी शर्मा ओली झनै धेरै मत ल्याएर चुनाव जित्ने बताएका छन् । अध्यक्ष गिरीले बालेन साह झापा आउने चर्चाका बीच यस्तो धारणा व्यक्त गरेका हुन् । पार्टी अध्यक्ष ओलीको नाम झापा–५ बाट एकल सिफारिस भएको जानकारी दिँदै गिरीले बालेन आए एमालेले मतान्तर थप बढाउने जानकारी दिए । सञ्चारकर्मीसँग कुरा गर्दै गिरीले झापा–५ मा बालेन आउनुले एमालेलाई केही पनि फरक नपर्ने बताए । ‘पपुलिष्टकै आधारमा भूगोलमा आएर निर्वाचन जित्न सजिलो छैन, हामीले जनताको काम गरेका छौँ,’ उनले भने, ‘बालेन झापाबाट उम्मेदवार बन्नेमा विश्वास छैन, आइहाले फरक पनि पर्नेछैन ।’
अध्यक्ष गिरीले कुलमान घिसिङ र बालेनलाई रास्वपासँग अदृष्य शक्तिले जबरजस्त मिलाएको दाबी गरे । ‘कुलमानजी बाहिरिनु भइसक्यो, बालेनजीलाई पनि रास्वपाले मनदेखि स्वीकार्न सक्दैन,’ उनी भन्छन्, ‘रास्वपाले बालेनको राजनीति झापाबाटै सिध्याउने रणनीति बनायो । क्षेत्रमा पनि रास्वपाका कार्यकर्ताले बालेनलाई स्वीकार गर्न सक्दैनन् ।’
बालेनलाई अदृष्य शक्तिहरुले नै प्रधानमन्त्री घोषणा गरेको बताउँदै गिरीले उक्त घोषणा रास्वपालाई मन नपरेको प्रतिक्रिया दिए । ‘रास्वपा निर्माण गर्न रवि लामिछाने र अन्य नेता कार्यकर्ताले दुःख गरे, प्रधानमन्त्री अर्को मान्छे बनाउनेभन्दा मान्ने अवस्था छैन,’ उनले थपे । परिस्थितिजन्य बाध्यताका कारण रास्वपाले बालेनलाई प्रधानमन्त्रीको रुपमा अघि सारेको गिरीको भनाई छ ।
पूर्वप्रधानमन्त्री ओलीलाई अप्ठ्यारो बनाउन सकिन्छ कि भनेर बालेन फण्डा गरिएको हुनसक्ने उनको भनाई छ । एमाले आफ्नो संगठनको बलमा निर्वाचन लड्ने बताउँदै उनले झापा क्षेत्र नं. ५ मा अध्यक्ष ओलीले अत्याधिक मतका साथ विजयी हुने बताए । विकास निर्माणको कामप्रति क्षेत्रका जनता सन्तुष्ट रहेको र बालेन टुरिस्ट उम्मेदवार हुँदा ओलीलाई निर्वाचन जित्न धेरै सजिलो हुने नेता गिरीको भनाई छ । सडक, पुलसहित पूर्वाधार विकासमा कायापलट गरेका कारण जनताको साथ एमालेलाई हुनेमा उनको विश्वास छ । अघिल्लो निर्वाचनमा अध्यक्ष ओली २८ हजार ५७६ मतान्तरले निर्वाचित भएका थिए । गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गर्दै दोब्बरभन्दा बढी मतान्तरले अध्यक्ष ओली निर्वाचित बनेका थिए । एक लाख २ हजार १५० खसेको मतमध्ये ९८ हजार ६३१ मत सदर भएकोमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका थिए । अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरेका थिए ।








प्रतिक्रिया