–कृष्ण पौडेल
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाअन्तर्गत भालुखोला र जवाबैराठ वन क्षेत्रमा वनजंगल सरसफाइ कार्य सुरु गरिएको छ । गौतम बुद्ध साझेदारी वन उपभोक्ता समूहको पहलमा सुरु गरिएको सरसफाइ कार्यले वन संरक्षणलाई सुदृढ बनाउनुका साथै स्थानीय बासिन्दालाई रोजगारीको अवसर पनि उपलब्ध गराएको छ ।
उपभोक्ता समूहका अनुसार करिब ५२ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमा झाडी सरसफाइको काम भइरहेको छ । सरसफाइ कार्यमा करिब ६० जना स्थानीय बासिन्दा संलग्न छन्, जसबाट उनीहरूले अस्थायी रोजगारी पाएका छन् ।
वन क्षेत्रमा गरिएको झाडी सरसफाइले डढेलो तथा आगलागीको जोखिम न्यूनीकरण गर्नुका साथै वनलाई व्यवस्थित र सुरक्षित बनाउन सहयोग पुग्ने उपभोक्ता समूहले जनाएको छ । साथै, यसले जैविक विविधता संरक्षण र हरियाली प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।
उपभोक्ता समूहका अध्यक्ष प्रबेज आलम खाँले झाडी सरसफाइपछि वन क्षेत्रमा डढेलो लाग्ने सम्भावना घट्ने र नयाँ बिरुवा उम्रन अनुकूल वातावरण तयार हुने बताए । साथै, सरसफाइ कार्यमार्फत स्थानीयलाई रोजगारीको अवसर मिल्नुका साथै समुदायको वनप्रतिको जिम्मेवारी भावना थप सुदृढ हुने उनको भनाइ छ । वन संरक्षण सबैको साझा दायित्व भएकाले यस्ता सरसफाइ कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले बताए ।
यसैगरी, डिभिजन वन कार्यालयका रेन्जर टोपबहादुर गुरुङले झाडी सरसफाइले वनको दीर्घकालीन संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । झाडी सफाइका कारण साजो, सालजस्ता बहुमूल्य काठ प्रजातिहरू छिटो उम्रन र राम्रोसँग विकास हुन सहयोग पुग्ने उनको भनाइ छ । यसले वनको जैविक विविधता र वातावरणीय सन्तुलन कायम राख्न मद्दत गर्ने उनले उल्लेख गरे ।
स्थानीय बासिन्दाले वनजंगल सरसफाइ कार्यले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने भन्दै खुशी व्यक्त गरेका छन् । उनीहरूका अनुसार यस्ता कार्यले वन संरक्षणसँगै समुदायको आर्थिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।















प्रतिक्रिया