२० कार्तिक २०८३, शुक्रबार

दाङमा दुर्घटनामा परेर नेपाल दलित संघका अध्यक्षको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिनेश नेपाली
दिनेश नेपाली

प्रहरी भन्छ, ‘गल्ती बसको छ’

दाङ, १५ साउन । दाङ जिल्लास्थित पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सतवरियारमा भएको सवारी दुर्घटनामा कांग्रेस निकट नेपाल दलित संघ जिल्ला कार्यसमिति दाङका अध्यक्ष दिनेश नेपालीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी विनीता नेपाली गम्भीर घाइते भएकी छिन् ।

शुक्रबार बेलुका करिव साढे पाँच सतवरिया गाविस– ९ च्याउखोलामा भएको दुर्घटनामा धर्ना गाविस स्थायी घर भइ हाल घोराही बस्दै आएका दिनेशको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । ३२ वर्षीय दिनेशका पत्नी, दुई छोरी र एक छोरा छन् ।

त्यसै गरी गम्भीर घाइते भएकी १९ वर्षीया विनीताको अवस्था पनि गम्भीर छ । प्रहरी निरीक्षक शाहीका अनुसार विनीतालाई अक्सिजन दिएर राखिएको छ । उनको होस खुल्न सकेको छैन ।

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ५४९० नम्बरको बसले अमिलियाबाट घोराहीतर्फ आउँदै गरेको रा १ प ९२११ नम्बरको मोटरसाइकललाई च्याउखोलाको घुम्तीमा ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका दिनेश र विनीतालाई तत्काल उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । यद्यपि कलेजका चिकित्सकहरूले अध्यक्ष दिनेशलाई मृत घोषणा गरेको निरीक्षक शाहीले बताए ।

‘दुर्घटनामा परेका दिनेश नेपाली र विनीता नेपालीलाई उद्धार गरी तत्काल मेडिकल कलेज कोहलपुर पठाएका थियौं’, उनले भने, ‘चिकित्सकहरूले दिनेशजीलाई तत्काल मृत घोषणा गरेका थिए । विनीताजीको गम्भीर अवस्थामा उपचार भइरहेको छ । केही भन्न सकिँदैन ।’

प्रहरी निरीक्षक शाही भन्छन्, ‘गल्ती बसको छ’

सतवरिया गाविसको अमिलियाबाट घोराहीतर्फ फर्कदै गरेको अवस्थामा च्याउखोलाको मोडमा तीव्र गतिको बसले मोटरसाइकललाई ठक्कर दिएको हो । मोड काटेर मोटरसाइकल अगाडि जानेवित्तिकै आएको बसले आत्तिएर मोटरसाइकललाई ठक्कर दिएको प्रारम्भीक अनुसन्धानबाट देखाएको छ । बस र मोटरसाइकल दुबै आत्तिएको देखिन्छ । बसको ब्रेक फेल भएको देखिँदैन । बसको प्राविधिक त्रुटि पनि छैन । दुर्घटना बसले नियन्त्रण गुमाएर भएको छ । मोटरसाइकल आफ्नो साइडमा छ । बस तीव्र गतिमा रहेको र नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिन्छ । बस र चालकलाई नियन्त्रणमा राखेका छौं । दुर्घटनाका विषयमा अनुसन्धान जारी छ ।

को हुन् दिनेश नेपाली ?

दाङ जिल्लाको धर्ना गाविसमा ३२ वर्ष अघि जन्मिएका दिनेश कांग्रेसको राजनीति गर्दै आएका थिए । माध्यामिकसम्मको अध्ययन धर्नास्थित माविबाट गरेका हुन् ।

त्यसपछि महेन्द्र बहुमुखी क्याम्पस भरपुरबाट आइ.ए.सम्मको अध्ययन गरेका दिनेशले दलित आन्दोलनमा सहभागिता जनाउँदै आएका थिए ।

कांग्रेसका साथै दलित आन्दोलनमा आफ्नो सहभागिता जनाउँदै आएका उनले केही समय काठमाडौंको मेरिना टेलरमा समेत सिलाइको पेशा अपनाएका थिए ।

सिलाइको पेशा सिकेर आफ्नै जन्मथलो दाङ फर्किएका दिनेशले घोराहीमा सिटिजन् टेलर खोलेस बस्दै आएका थिए । घरमा पाँच भाईमध्ये दिनेश माइलो छोरा हुन् ।

दाङ कांग्रेसमा जिल्ला नेताको हैसियत बनाएका दिनेश समाज सेवामा निरन्तर लागिरहेका थिए । उनी कांग्रेसको संगठन निर्माणमा क्रियाशील रहँदै आएको जिल्ला नेताहरूको भनाइ छ ।