काठमाडौँ, १४ साउन । काठमाडौँमा जननेता स्वर्गीय मदन भण्डारीको फोटो प्रदर्शनी चलिरहँदा एक जना फोटोग्राफरले गम्भीर आरोप लगाएका छन् ।
फोटोग्राफर नरेश श्रेष्ठले विज्ञप्ति जारी गरी आफ्नो अनुमतिविना फोटो प्रदर्शनी गरिएकोमा आपत्ति जनाएका हुन् । आफूलाई आर्थिक र नैतिक दुवै अधिकारबाट बञ्चित गराई गैरकानुनी ढंगले तस्वीरहरु सार्वजनिक प्रदर्शनीमा राखि आफ्नो फोटो डकैती (पाइरेसी) गरिएको उनको आरोप छ ।
काठमाडौंको ववरमहलस्थित नेपाल आर्ट काउन्सिलमा साउन १० गतेदेखि १६ गतेसम्म सांस्कृतिक संग्रहालय नेपालले मदन भण्डारीको फोटो प्रदर्शनी गरिरहेको छ । प्रदर्शनीमा राखिएका करिब १५० तस्वीरको अधिकारवाला आफू भएको भन्दै फोटोग्राफर श्रेष्ठले नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ का आधारमा कारवाहीका लागि प्रहरीलाई समेत गुहारेका छन् ।
यस्तो छ उनको विज्ञप्ति:
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीका विभिन्न समयमा खिचिएका तस्वीरहरु पाइरेसी गरी प्रर्दशनमा राखिएको बारे ध्यानाकर्षण ।
म नरेशकुमार श्रेष्ठले विभिन्न समयमा खिचेका एमालेका तत्कालीन महासचिव मदन भण्डारी, जीवराज आश्रित, सगरमाथा आरोही प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पा लगायत विभिन्न व्यक्तिहरुको तस्वीर खिचेकोमा ती तस्वीरहरु मेरो अनुमतिविना सार्वजनिक प्रयोग गरेकोले संचारमाध्यमहरुमा समाचार प्रकाशित गरिदिनुहुन अनुरोध गर्दै यो विज्ञप्ती जारी गरेको छु ।
हाल काठमाडौंको ववरमहलस्थित नेपाल आर्ट काउन्सिलमा साउन १० गतेदेखि १६ गतेसम्म सांस्कृतिक संग्रहालय नेपालले गरिरहेको फोटो प्रदर्शनीमा राखिएका करिब १५० तस्वीर म अधिकारवालाको अनुमतिविना सार्वजनिक प्रदर्शनीमा राखिएकोले नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ का आधारमा कारवाही गरिपाउँ भनी सम्बन्धित निकायमा निवेदन दिइसकेको छु ।
नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय र महानगरीय प्रहरी परिसर टेकुमा आवेदन दिई कारवाहीको प्रक्रिया अगाडि बढाइएको समेत अवगत गराउन चाहन्छु । प्रतिलिपि अधिकार ऐनले स्रष्टालाई सर्वाधिकार दिई आर्थिक र नैतिक दुवै अधिकार प्रदान गरेकोमा मेरा तस्वीरहरुमा मलाई आर्थिक र नैतिक दुवै अधिकारबाट बञ्चित गराई गैरकानुनी ढंगले ती तस्वीरहरु सार्वजनिक प्रदर्शनीमा राखिएको छ । यतिसम्म कि सर्वाधिकार भएको स्रष्टालाई सूचना समेत नदिई तस्वीरमा मेरो नाम समेत उल्लेख नगरी गैरकानुनी रुपले पाइरेसी (डकैती) गरिएकोले समाचार सम्प्रेषण गरिदिनुहुन अनुरोध गर्दछु । मैले खिचेका र विनाअनुमति प्रदर्शनीमा राखिएका केही तस्वीर समेत साथमा पठाएको छु ।
नरेशकुमार श्रेष्ठ
फोटो पत्रकार













प्रतिक्रिया