पोखरा, १४ साउन । कास्कीमा अविरल वर्षापछिको गएको पहिरोले भदौरेतामागी र लुम्ले गाविसमा १६ जनाले ज्यान गुमाएका छन् । पहिरोमा ३३ जना बेपत्ता भएका छन् ।
भदौरेतामागिमा ५ र लुम्लेमा ११ गरी १६ जनाको मृत्यु भएको कास्कीका डीएसपी केदार रजौरेले बताए । उनका अनुसार भदौरेतामागिमा ४ जना र लुम्लेमा २९ जना बेपत्ता छन् ।
यस्तै, गएराति १ बजे भीषण वर्षासँगै गाउँमाथि रहेको खानेपानीको ट्याङ्की फुटी पहिरो गएर घर पुरिँदा अहिलेसम्म कास्कीको लुम्ले–५ माझका एकै घरका चार र कास्कीको भदौरे तमागी–५ डुँडाखेतमा गरी नौ जनाको सनाखत भएको छ ।
एकै घरकामध्ये वसन्त विक, निजकी श्रीमती, नातिनातिना गरी चारवटा लास निकालिएको नागडाँडा प्रहरी चौकीका सहायक निरीक्षक ज्ञानप्रसाद लामिछानेले जानकारी दिनुभयो । मृतकमध्ये अर्जनु राईको पनि सनाखत भएको छ ।
स्थानीय बासिन्दाका अनुसार त्यहाँ आठजना सुतेका छन् । पहिरोले १३ वटा घर पुरेको छ । घटना मध्यरातमा भएकाले कोही पनि भाग्न नपाएको र बेपत्ता हुनेको खोजी भइरहेको छ । गएरातिको पहिरोले घर पुरेर मृत्यु भएका कास्कीका भदौरे तमागीका चारजनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका ६५ वर्षीय टीकाराम विक, निजकी श्रीमती ५५ वर्षीया रामकुमारी विक, ३१ वर्षीया गौरी पराजुली र ७ वर्षीय करण पराजुली भएको घटनास्थलमा पुगेका प्रहरी नायब उपरीक्षक केदार रजौरेले जानकारी दिनुभयो । चार बेपत्ता र १५ घाइते भएका प्रहरीले जनाएको छ ।
यसैबीच पहिरोमा पुरिएकाहरुको उद्दारका लागि नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर अन्तरगतको टोली घटनास्थलमा पुगेर खोज एवं उद्धार कार्य गरिरहेको छ ।
उक्त घटनामा खोज एवं उद्धार कार्यको थप सहायताको निमित्त नेपाली सेनाको बेल हेलिकप्टर समेत काठमाडौबाट घटनास्थलमा पुगी कार्य प्रारम्भ गरिसकेको छ ।












प्रतिक्रिया