– टेकराज भण्डारी
२०५२ सालमा उनी अछाम आउँदा श्रीमती र २/४ महिनाकी काखे छोरी बाहेक उनीसँग केही थिएन । पहिले अछामको साँफेबगरमा केही महिना र त्यसपछि साबिकको जनालीवण्डाली गाविस वडा नम्बर १ ठुलासैनमा उनले आफ्नो जिवन बिताए ।
नाम : रविलाल गुरुङ, ठेगाना : लाप्राम ९, गोरखा उमेर ४५ बर्ष, हालको ठेगाना : मंगलसैन नगरपालिका वडा नम्बर ७ ठुलासैन ।
गोरखाको गुरुङ, अछामको ब्राह्मण बाहुल्य भएको गाउँ । फरक ठाउँ, संस्कृति, चाल चलन सबै नयाँ । त्यो बेला उनलाई नयाँ समाजमा घुलमिल हुन कति समय लाग्यो, त्यो त उनले बताउन नै पाएनन्, तर त्यसलाई अवसरको रुपमा सदुपयोग गरी त्यही समाजसंग घुलमिल हुन उनलाई समय लागेपनि त्यसलाई कहिल्यै अप्ठेरो मानेनन् । ब्राह्मण बाहुल्य भएको समाजमा उनी अरु सरह नै घुलमिल भए भने अरुले पनि उनलाई केही अवरोध पुर्याएनन् ।

आईतवार बेलुकी ४ बजे ठुलासैन बजारमा सनसनी एउटा खबर फैलियो । रबि गुरुङ आफ्नै कोठामा मृत अवस्थामा भेटिए । घाँटी रेटिएको र वेडबाट तल परेको । यो खबर जहाँ जहाँ फैलियो सबै आश्चर्यमा मात्र परेनन्, स्तब्ध पनि भए ।
कसैले कल्पना नगरेको घटना घटेको थियो । सबैसंग मिलनसार र सहयोगी भावन भएका रबिको यस्तो मृत्यु कसैले चिताउन त परै जाओस, कल्पना समेत गरेका थिएनन् ।
अछाम सदरमुकाम मंगलसैनसंगै जोडिएको र बजारीकरण हुँदै गरेको ठुलासैनमा रहँदा रविले अरु केही नकमाए पनि मान्छे भने प्रशस्त कमाएका थिए । कोही छिमेकी तथा चिनजानको मान्छे बिरामी भएपछि त्यसलाई बोकेर अस्पताल पुर्याउने, आवश्यक सहयोग गर्ने, बिबाह, भोज भतेरमा जाने, मान्छे मर्दा मलामी जाने लगायतका सबै कार्यमा सहभागी हुन थाले । छुट्टै परिवेश र समुदायको मानिस अर्को नयाँ ठाउँमा नयाँ मान्छेलाई आफन्त बनाउँदै उनी जीवनयापन गर्न थाले ।
पहिले खच्चर मार्फत सामान ढुवानी गरेर कारोबार गरेका उनी यातायातको विकास संगै गाडी आवत जावत हुन थालेपछि आफ्नो व्यापार परिमार्जन गर्दै जान थाले । पछिल्लो समयमा होटेल संचालन र केही बंगुर पालन गरी आफ्ना ५ छोरी र श्रीमतीको पालनपोषण, शिक्षादिक्षा प्रदान गर्दै आईरहेका थिए ।
एक्कासी मरेर संसार त्याग गरेका उनको बारेमा सुन्दा सबैले जिब्रो टोके । मिलनसार, सहयोगी उनको मृत्युको खबरले सबैलाई रुवाएको थियो । परिवारको संख्या पनि बढी भएको घरायसी मेलमिलाप नभएका कारण व्यापारबाट उनले गुजरा चलाउन बाहेक उपलब्धि हाँसिल गर्न सकेका थिएनन् ।
मरिसकेपछि छिमेकीले प्रहरीलाई खबर गरे । प्रहरीले घटना अवस्थाबारे जाँच बुझ गर्यो । घटना शंकास्पद रहेको र अनुसन्धान भैरहेको प्रहरीले जनाउ दियो । पोष्टमार्टम गर्नुपर्ने, दाहसंस्कार गर्नुपर्ने सबै कार्य अब छिमेकी र स्थानीयको काँधमा आयो ।

सामान्यतः गुरुङ संस्कृति र ब्राह्मण संस्कृतिमा विभिन्न संस्कार आ–आफ्नै प्रकारका छन् । स्थानीयले खर्चको जोहो गरी अस्पताल पुर्याउने, पोष्टमार्टम गर्ने तथा दाहसंस्कार गर्ने कार्यको जिम्मा लिए । घरबाट खर्च नआएपछि स्थानीयले आफै खर्चको जोहो गरी यी सबै कार्य गरे । ठुलासैन बजार व्यवस्थापन समितिले आवश्यक सामग्रीका लागि खर्चको व्यवस्था गर्ने भयो ।
स्थानीय बाहुन, क्षेत्री लगायतका जातिले गुरुङलाई गुरुङ संस्कृति अनुसार नै दाहसस्कार गरिदिए । उनीहरुले आफ्नै दाहसंस्कार स्थलमा लिएर शवलाई गाड्ने र अन्य गुरुङ संस्कृति अनुसार आफुले सोध खोज गरी दाहसंस्कार गरेको हरिनगर बजार व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज भण्डारीले बताउनुभयो ।
जातियताको नाम दिँदै देशमा विभिन्न कुरा र तर्कनाहरु चलिरहेको बेला बाहुन समुदायले एउटा टाढाबाट आएको गुरुङ समुदायको मान्छेलाई उनीहरुकै संस्कार अनुसार सोधीखोजी गरी मृत्यु संस्कार गर्नु जातिय सद्भाव तथा धार्मीक सहिष्णुताको उत्तम नमूना हो ।
देश संविधान निर्माणको संघारमा रहेको बेला कसै कसैले अति जातिवादी, क्षेत्रबादी, भाषावादी कुरा गरी एक अर्को समुदायवीच मेलमिलापको भावना र सहिष्णुता खल्बल्याउने कार्य पनि गरिरहेका छन् । हामी सबैले सबैभन्दा पहिले नेपाली भएर सोच्न जरुरी छ । अनि मात्र हामी नेपाल भित्रका अनेक भाषा, संस्कृति, भेषभुषा सहितको फुलबारीमा रमाउन सक्छौं ।












प्रतिक्रिया