इटहरी, १२ साउन । हिन्दु राष्ट्रको माग गर्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच इटहरीमा झडप भएको छ । झडपमा दुई प्रहरीसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
झडपले इटहरी बजार तनावग्रस्त बनेको छ । यातायात बजार सबै बन्द भएका छन् । इटहरीको टेम्पो स्टेशनमा धर्मगुरु र समर्थकहरु सहितको जुलुसलाई प्रहरीले रोकेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले साधुसन्तसहित हिन्दु धर्मका समर्थकमाथि लाठी चार्ज र करिब एक दर्जन सेल अश्रुग्याँस प्रहार गरेको छ ।
झडपपछि प्रहरीले धर्मगुरु श्रीनिवासचार्यलाई नियन्त्रणमा लिएको छ । हिन्दु धर्मका समर्थकहरु आफ्ना गुरु पक्राउ परेपछि आक्रोशित भएका छन् । झडपमा घाइते भएका सबैलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्थानीय स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया