२० कार्तिक २०८३, शुक्रबार

ओलीको लाईनमा देउवा, कोइराला दोधारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-koirala-deuba-1काठमाडौँ, ११ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवा धार्मिक स्वतन्त्रताको पक्षमा उभिएका छन् । उनले नयाँ संविधानमा धर्मनिरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता राख्नुपर्ने बताए ।

संविधानको मस्यौदामा हिन्दु धर्म र धर्मनिरपेक्षताका विषय बढी विवाद देखिएपछि नेताहरुले धार्मिक स्वतन्त्रताको कुरा गर्न थालेका हुन् । धार्मिक स्वतन्त्रताको कुरा सुरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उठाए ।

पहिला धर्मका बारेमा मुख नखोलेर धर्म निरपेक्षतालाई समर्थन जनाएका ओलीले मस्यौदामा आएको जनमतपछि धार्मिक स्वतन्त्रताको मुद्दा उठाएका हुन् । उनी हरेक कार्यक्रममा धार्मिक स्वतन्त्रतामा जोड दिइरहेका छन् । जो अहिलेको परिवेशमा उपयुक्त पनि मानिन्छ । उसो त एमाले धर्म निरपेक्षता कै पक्षमा थियो । तर, जनमतको कदर गर्दै अध्यक्ष ओलीले यो विषय उठाएका हुन् ।

यता कांग्रेसका वरिष्ठ नेता देउवा पनि धार्मिक स्वतन्त्रताको पक्षमा उभिएका छन् । केपी ओलीले कुरा उठाएपछि देउवाले त्यसमा समर्थन जनाएका हुन् । नयाँ संविधानको मस्यौदामाथि अधिकाँश जनताले सुझाव दिँदा धार्मिक स्वतन्त्रता राख्न सुझाव दिएकाले धर्म निरपेक्षताको सट्टामा धार्मिक स्वतन्त्रता राख्नुपर्ने देउवाको तर्क छ ।

उसो त कांग्रेस अहिले पनि हिन्दु राष्ट्रको पक्षमा छ । कांग्रेसका थुप्रै नेता हिन्दु राष्ट्रको पक्षमा वकालत गरिरहेका छन् । खुमबहादुरदेखि अर्जुननरसिहं सम्मका केन्द्रीय नेताहरु हिन्दु राष्ट्रको पक्षमा उभिएका बेला देउवा भने ओलीको लाईनमा धार्मिक स्वतन्त्रताको वकालत गरिरहेका छन् ।

देउवा धार्मिक स्वतन्त्रताको पक्षमा उभिएपछि कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला दोधारमा परेका छन् । पार्टीको एक पक्तिले हिन्दु राष्ट्र र अर्काे पक्तिले धार्मिक स्वतन्त्रताको मुद्दा उठाएपछि कोइराला दोधारमा परेका हुन् । अब कोइरालाले पार्टीमा कुन मुद्दालाई प्राथमिकता दिनेछन् ? त्यो हेर्न बाँकी नै छ ।