३० आश्विन २०८३, शुक्रबार

रास्वपाको सचिवालय विस्तारप्रति तोसिमा असन्तुष्ट

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तोसिमा कार्कीले पार्टीको सचिवालय विस्तारको निर्णयप्रति असन्तुष्टि जनाएकी छन् ।

पार्टीमा रिफर्मेसनको एजेण्डा उठिरहेको र त्यसैको लागी विस्तारित बैठक तोकिएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमार्फत् विस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरिएकोमा असन्तुष्टि जनाएकी हुन् ।

उनले लेखेकी छन्, ‘महाअधिवेशन कैले गर्ने, के गर्ने, भन्ने निर्णयको लागि २ हप्तामा हुन लागेको विस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरियो । हामीले खोजेको रिफर्मेसन यो होइन । कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो ।’

शनिबार रास्वपाले सचिवालय विस्तार गरेको छ । पार्टी विधानको धारा २६ मा भएको व्यवस्था अनुसार कार्यवाहक सभापति डीपी अर्यालले सचिवालयमा ४ जना सदस्य मनोनीत गरेका हुन् । सभापतिको मनोनीत गरेको उक्त निर्णय शनिबार बसेको पार्टी केन्द्रीय समितिको भर्चुअल समितिको बैठकमा प्रस्तुत भएको छ ।

थप हुने सदस्यहरूमा सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाल छन् । उनीहरू चार जना नै गत निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए ।

रास्वपाको विधानमा २५ जनासम्मको पार्टी सचिवालय गठन गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर सचिवालय विस्तार गरिएको रास्वपाले जनाएको छ ।

तर, डा. तोसिमाले नयाँ र वैकल्पिक शक्तिहरूलाई समेत एकीकृत गर्नका लागि पदहरू खाली राख्नुपर्ने भनेर सचिवालय विस्तारको प्रस्ताव रोक्न माग गरेकी छन् । डा. तोसिमाले सामाजिक सञ्जालमार्फत पार्टी लोकतान्त्रिक हुन जरुरी रहेको पनि बताएकी छ्न । उनले लेखेकी छन्, ‘फेरी पनि भन्दैछु हामी थप लोकतान्त्रिक हुन जरुरी छ । कार्यशैलि सच्याउन जरुरी छ । पार्टीका गतिविधिहरुमा संगठनको जरा–जराले अपनत्व महसुस गर्न सक्नुपर्छ ।’

यहीँनेर उनले विस्तारीत बैठकमा भोटिङ राइट मागेकी हुन् । ‘पुनः दोहोर्‍याउँछु, विस्तारीत बैठकमा पार्टीको संगठनको बृहत सहभागिता र भोटिङ राइट्सको सुनिश्चित गरियोस् भनि माग गर्दछु’ उनले लेखेकी छन्, ‘भोटिङ राइट्स नदिने भए देशभरबाट चितवन सम्म बोलाएर, समय, पैसो, श्रम खर्च गरेर निर्णयको अधिकार नदिने भए बैठकको औचित्य छैन ।’

रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक यही कार्तिक १४ र १५ गते चितवनमा बस्दैछ ।