३० आश्विन २०८३, शुक्रबार

समर्थन फिर्ता लिँदै मधेश सरकारबाट बाहिरियो एमाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको छ। समर्थन फिर्तासँगै एमालेबाट प्रदेश सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार पदबाट राजीनामा दिएका छन्।

राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदा देवी थापा, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर, शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्मा छन्।

एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश प्रमुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन अन्त्य गरिएको जानकारी गराएका छन्।

एमालेका अनुसार १५ बुँदे सहमतिका आधारमा सरकारलाई समर्थन गरे पनि सहमतिअनुसार प्रदेश सरकार सञ्चालन हुन नसकेको र सुशासन तथा विकासका विषयमा अपेक्षित काम नभएको भन्दै समर्थन फिर्ता लिइएको हो।

बजेटमा समेटिएका महत्वपूर्ण योजना कार्यान्वयनमा समेत सरकार गम्भीर नदेखिएको एमालेको आरोप छ। सहमति कार्यान्वयनका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुधार नभएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको एमालेले जनाएको छ।

एमालेले समर्थन फिर्ता लिएसँगै मधेश प्रदेश सरकारको वर्तमान सत्ता समीकरण प्रभावित हुने भएको छ। सरकारको स्थायित्व र आगामी राजनीतिक समीकरणबारे पनि नयाँ बहस सुरु हुने देखिएको छ।