खोटाङ, ७ साउन । गत वैशाख १२ गतेको भूकम्पका कारण यो वर्ष हलेसी आउने दर्शनार्थीको सङ्ख्या घटेको छ ।
त्रिधार्मिकस्थल खोटाङको हलेसी आउने बाटाका सडकमा क्षति पुगेकाले यो वर्ष दर्शन गर्न आउने भक्तजनको सङ्ख्या घटेको हो । भूकम्पका कारण साउनभर लाग्ने बोलबम मेलामा समेत गत वर्षको तुलनामा यो वर्ष थोरै मात्र भक्तजनको उपस्थिति रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यो वर्ष दर्शन गर्न आउने भक्तजनको सङ्ख्या आधा घटेको छ, साउनको पहिलो सोमबार २०÷२५ जनाले मात्र दर्शन गरेका छन् ।” गत वर्ष महिनादिनसम्म लाग्ने बोलबम मेला भर्न नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायतका हजारौँ भक्तजन आएका थिए । हलेसी आउने मुख्य सडक सिन्धुपाल्चोकलगायत सडकमा भूकम्पले क्षति पु¥याएकाले दर्शनार्थी घटेको हलेसी विकास समितिका कार्यकारी निर्देशक तामन राईले जानकारी दिनुभयो ।
धार्मिक तथा सांस्कृतिक रुपले प्रसिद्ध मानिने त्रिधार्मिस्थल हलेसीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
महादेवगुफा, धर्मद्वार, पापद्वार, बसाहागुफा, भैरवगुफा, दुंदेलोगुफालगायत धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनको सङ्ख्या घटेपछि त्यस क्षेत्रका व्यापार/व्यवसायसमेत खस्केको व्यवसायीको भनाइ छ । भूकम्पले हलेसी मन्दिर परिसरमा कुनै क्षति गरेको छैन । मन्दिरनजिक रहेको पानीको मुहान भने सक्दै गएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । रासस












प्रतिक्रिया