
–अन्जनी कुमार अधिकारी
उदयपुर, १५ भदौ । उदयपुरको दुई पालिका चौदण्डीगढी र बेलका नगरपालिकाले संयुक्तरुपमा इलाका प्रशासन कार्यालय माग गर्ने निर्णय गरेको छ ।
आइतबार चौदण्डीगढी नगरपालिकाको सभाहलमा दुवै पालिकाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थितिमा बसेको बैठकले केन्द्र सरकारसमक्ष इलाका प्रशासन कार्यालय माग गर्ने निर्णय गरेको हो ।
गत भदौ ९ बसेको मन्त्रिपरिषद्को बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाएको थियो । प्रशासन समितिले आवश्यक छलफल गरी इलाका प्रशासन कार्यालय स्थापनासम्बन्धी प्रस्ताव कार्यान्वयनको लागि प्रक्रिया अगाडि बढाएको बेला उदयपुरका दुई पालिकाले इलाका प्रशासन माग गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउने उद्देश्यसहित चौदण्डीगढी र बेलका नगरपालिकाले संयुक्तरुपमा इलाका प्रशासन माग गर्ने निर्णय गरेको चौदण्डीगढीका मेयर कालुमान लामाले जानकारी दिए ।

चौदण्डीगढी र बेलका नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरोकारवालाहरुको उपस्थितिमा भएको छलफलले इलाका प्रशासन कार्यालय कहाँ राख्ने भन्ने विषयमा टुंगोमा पुग्न नसकेको भएपनि दुई पालिकाका जनताको सहजताका लागि इलाका प्रशासन कार्यालय माग गर्ने निर्णय भने सर्वसम्मतले पारित गरेको हो । उनीहरुले इलाका प्रशासन आउने पक्का भएपछि दुई पालिकाको भौगोलिक अवस्था, भौतिक संरचना लगायतका विषयलाई मध्येनजर गरेर कार्यालय कहाँ राख्ने भन्ने विषयमा टुंगोमा पुग्ने निर्णय गरेको बेलका नगरपालिकाका उपमेयर जिरा राईले जानकारी दिइन् ।
आइतबार बसेको दुई पालिकाको संयुक्त बैठकले चौदण्डीगढी नगरपालिकाको बेल्टार र बेलका नगरपालिकाको रामपुरमा रहेको इलाका प्रहरी कार्यालयमा डिएसपी (प्रहरी नायव उपरीक्षक)को दरबन्दी समेत माग गर्ने निर्णय गरेको छ । हाल दुवै इलाकामा प्रहरी निरीक्षकको दरबन्दी रहेको छ ।













प्रतिक्रिया