२९ आश्विन २०८३, बिहिबार

मोदीले ट्रम्पलाई नोबेल पुरस्कारका लागि समर्थन नगर्दा भारत–अमेरिका सम्बन्धमा तनाव : रिपोर्ट

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १५ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई नोबेल शान्ति पुरस्कारका लागि समर्थन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अनुरोध गर्दा अस्वीकार गरेपछि दुई देशबीचको सम्बन्धमा तनाव निम्तिएको एक रिपोर्टले जनाएको छ ।

ट्रम्पले गएको जुन १७ मा मोदीसँग भएको फोनवार्ताका क्रममा भारत–पाकिस्तान शत्रुता अन्त्य गर्ने आधारमा आफूलाई नोबेल शान्ति पुरस्कारका लागि समर्थन गर्न अनुरोध गर्नुभएकोमा मोदीले त्यो अनुरोध अस्वीकार गर्दै ट्रम्पको दाबीलाई खारेज गर्नुभएको न्युयोर्क टाइम्सको रिपोर्टलाई उल्लेख गर्दै समाचार संस्था एएनआईले लेखेको छ । यद्यपि ह्वाइट हाउसका प्रवक्ताले भने रिपोर्टअनुसार ट्रम्पले मोदीलाई सम्पर्क गरेको दाबी अस्वीकार गरेका छन् ।

भारतको आधिकारिक अडान अनुसार भारत र पाकिस्तानबीच भएको युद्धविराम अमेरिकाको संलग्नताविना दुवै देशको प्रत्यक्ष सहमतिमा तय भएको थियो । रिपोर्ट अनुसार ट्रम्पको नोबेल पुरस्कार प्राप्त गर्ने महत्त्वकाङ्क्षामा सहयोग नगर्ने मोदीको निर्णयले भारत–अमेरिका सम्बन्ध बिगार्न महत्त्वपूर्ण भूमिका खेलेको हो ।

फोनवार्ता भएको केही हप्तापछि अमेरिकाले भारतमाथि २५ प्रतिशत पारस्परिक भन्सार शुल्क लगाएको र रुसबाट छुटमा तेल खरिद गरेकोमा थप २५ प्रतिशत जरिवाना घोषणा गरेको थियो । यससँगै भारतमाथि कुल ५० प्रतिशत भन्सार शुल्क लागू भएको थियो ।

न्युयोर्क टाइम्सका लागि मुजीब मशाल, टायलर पेजर र अनुप्रीता दासद्वारा तयार पारिएको यो रिपोर्ट वाशिङ्टन र नयाँदिल्लीका १० जनाभन्दा धेरै व्यक्तिसँगको गोप्य शर्तमा लिइएको अन्तर्वार्तामा आधारित छ । रिपोर्टअनुसार जुन १७ को फोनवार्तापछि मोदी र ट्रम्पबीच कुनै संवाद भएको छैन ।