२० कार्तिक २०८३, शुक्रबार

संविधानमा लोकतान्त्रिक अधिकार मात्रै सुनिश्चित हुन्छ : महामन्त्री सिटौला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KRISHNA-PRASAD-SITAUALAभद्रपुर, ६ साउन । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले जनताको लोकतान्त्रिक अधिकार सुनिश्चित हुने नयाँ संविधान आउने बताउनुभएको छ ।

जननायक विपी कोइरालाको ३३औँ स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस झापा निर्वाचन क्षेत्र नं।१ को नवनिर्मित भवनको आज धुलाबारीमा उद्घाटन गर्र्दै उहाँले सो कुरा बताउनुभएको हो ।

संविधान मस्यौदा समितिको संयोजकसमेत रहनुभएका सिटौलाले नयाँ संविधानमा रहेका स्वाधीनता, अखण्डता र जनताको सार्वभौमसत्तालाई कसैले पनि परिवर्तन गर्न नसक्ने दावी गर्नु भयो ।

उहाँले सामाजिक सद्भाव र एकतालाई एक सूत्रमा बाँध्ने चरित्रको हुने यो नयाँ संविधानले राष्ट्र बलियो एवम् समृद्ध हुने धारणा राख्नु भयो ।

महामन्त्री सिटौलाले जननायक विपीको आदर्श र सिद्धान्तबाट नै मुलुकलाई सही मार्गमा लैजान सकिने प्रष्ट पार्दै विपीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

उहाँले थोरै समयमा भएपनि मुलुकका नागरिकले संविधानको मस्यौदामा राय, सुझाव दिन देखाएको सक्रियताप्रति खुशी व्यक्त गर्दै जनताको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई यो संविधानले संस्थागत गर्ने ठोकुवा गर्नुभयो ।

नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं।१ का सभापति मणिकुमार उप्रेतीको सभापतित्वमा भएको सो कार्यक्रममा सभासद् उषा गुरुङ, नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा, पार्टीका युवा नेता विश्वप्रकाश शर्मा, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवम् महाधिवेशन प्रतिनिधि केशवराज पाण्डे, महासमिति सदस्य अशोक पोखरेल, महाधिवेशन प्रतिनिधि विमल आचार्य, नेपाल तरुण दल झापाका सभापति गोपाल तामाङ, तिलक गिरी, प्रेम साम्बाहाम्फे, रचना घिमिरे र राम कट्टेलले विपीको बहुआयामिक व्यक्तित्व माथि प्रकाश पार्नु भएको थियो ।

नव निर्मित भवनका लागि समाजसेवी देवेन्द्र नेम्वाङले एक कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो भने एक हल र तीन कोठे सो भवन निर्माण गर्न रु।२६ लाख ७९ हजार खर्च भएको बताइएको छ ।
यसैबीच महामन्त्री सिटौलाले प्रस्तावित संविधानको मस्यौदामा जनताको राय सुझाव लिनेकार्य सकिएको र केही दिनभित्रै नागरिक सम्बन्ध तथा सुझाव समितिले संविधानसभामा प्रतिवेदन बुझाएपछि संविधान निर्माणको कामले गति लिने बताउनु भएको छ ।
नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३३औं स्मृति दिवसको अवसरमा आज नेपाली काँग्रेस झापा क्षेत्र नं।२ ले चन्द्रगढीस्थित धनुषमोडमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।रासस