२० कार्तिक २०८३, शुक्रबार

सोमबार शीर्ष नेताहरुले के-के गरे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil_prachanda_Oli_763888178काठमाडौँ, ४ साउन । प्रधानमन्त्री सुशील कोइराला बाँकेका चार वटै निर्वाचन क्षेत्रमा सुझाव सङ्कलनमा आज दिनभर व्यस्त रहनुभयो ।
‘नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा’माथि जनताको सुझाव सङ्कलन गर्न आज नेपालगन्ज पुग्नुभएका प्रधानमन्त्री कोइरालाले आफ्नो निर्वाचन क्षेत्र बाँके क्षेत्र नं ३ को नेपालगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै जनता नै सबै शक्तिका स्रोत हुन् भन्ने मान्यतालाई अँगालेर संविधान जारी गरिने बताउनुभयो ।

उहाँले तराई, पहाड र हिमालमा बस्ने सबै नेपालीको अधिकार सुनिश्चित हुने व्यवस्था संविधानले गर्ने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “सङ्घीयताका विषयमा उठाइएका शङ्का निरर्थक हो, संविधान बन्दैन कि भन्ने शङ्का गर्नु पनि भ्रम सिर्जना गर्नु मात्र हो, यी सबै हल्लाको पछि तपार्इंहरू कोही पनि नलाग्नुहोला ।”

त्यसपछि प्रधानमन्त्री कोइरालाले बाँके क्षेत्र नं १ को कोहलपुर, क्षेत्र नं २ को हिर्मिया र क्षेत्र नं ४ को खजुरामा आयोजित छुट्टाछुट्टै सभालाई सम्बोधन गर्नुभयो ।

यता काँग्रेसकै वरिष्ठ नेता शेरबहादुर देउवा काठमाडौँ क्षेत्र नं ३ को सुन्दरीजलस्थित खोख्रेली माविमा आयोजित कार्यक्रममा सहभागी हुनुभयो । काँग्रेस उपसभापति रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं २ को दमौलिस्थित उद्योग वाणिज्य सङ्घको हलमा आयोजित कार्यक्रममा सहभागी हुनुभयो । त्यहाँ उपसभापति पौडेलले जनता तथा विभिन्न सङ्घसङ्स्थाका सुझाव लिनुभएको थियो ।

एमाले नेताको व्यस्तता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आफ्नो झापा क्षेत्र नं ७ को दमकमा आयोजित कार्यक्रममा जनताको राय सुझाव लिन व्यस्त हुनुभयो । अध्यक्ष ओली आजै दमकमा पत्रकार भेटघाटमा पनि सरिक हुनुभयो । सो अवसरमा नेता ओलीले चार दलबीचको १६ बुँदे सहमतिको मर्म र भावनाअनुसार नै संविधान जारी गरिने बताउनुभयो ।
एमालेकै वरिष्ठ नेता झलनाथ खनाल इलामको क्षेत्र नं १ स्थित सूर्याेदय नगरपालिकामा आयोजित सुझाव सङ्कलन कार्यक्रममा तथा अर्का नेता माधवकुमार नेपाल रौतहटको क्षेत्र १ स्थित गौर नगरपालिकामा आयोजित कार्यक्रममा व्यस्त रहनुभयो । केही मधेसकेन्द्रित दलको अवरोध र आक्रमणको प्रयासका बीच उहाँ दिनभर कार्यक्रमस्थलमा रहनुभयो ।

एमाओवादी नेता पनि व्यस्त

एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल भारतबाट फर्किएलगत्तै सिरहा क्षेत्र नं ५ मा जनताको सुझाव सङ्कलनमा सहभागी हुनुभयो । उहाँले सीमाङ्कन र नामाङ्कनसहितको संविधान जारी गर्न आफ्नो दल तयार रहेको बताउनुभयो ।
नेता दाहालले जनताको माग र चाहनाअनुसार नै संविधान जारी हुने र सकेसम्म सबै पक्षलाई मिलाएर लैजान प्रमुख चार राजनीतिक दल तयार रहेको समेत जानकारी गराउनुभएको थियो ।
त्यस्तै एमाओवादीका नेता डा बाबुराम भट्टराई गोरखा क्षेत्र नं १ स्थित गोरखा बजारको हरमटारीको कभर्ड हलमा आयोजित जनमत सहभागी हुनुभयो । सो स्थानमा एमालेका सभासद् केशवप्रसाद बडाल पनि सहभागी हुनुहुन्थ्यो ।
सो अवसरमा नेता डा भट्टराईले जनताको मागअनुसार नै संविधान निर्माण हुन लागेकाले सक्दो सहयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँले सम्झौताको संविधान बन्ने भएकाले सबै पक्षको भावना पूरापूर रुपमा समेटिन नसकिने भए पनि जनताको धेरै अधिकार संस्थागत हुने विश्वास दिलाउनुभयो । रासस